
हेटौंडाको भैरवडाँडामा भेटिएको शव शंकास्पद, यस्तो भन्छ प्रहरी

हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नं. १ भैरवडाँडास्थित पाथिभरा मन्दिर नजिक एक युवतीको शव फेला परेको छ ।
युवतीको शव शंकास्पद भएको अनुसन्धानमा खटिएका मकवानपुर प्रहरीको टोलीले बताएको छ ।
मन्दिर नजिक जंगलमा रुखले अड्काएको र घोप्टो परेको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाले जानकारी दिए ।
प्रहरी निरीक्षक झासहितको प्रहरी टोली घटनास्थलमा अनुसन्धानको क्रममा छन् । झा युवतीको पहिचान हुन नसकेको बताए । ‘युवतीको पहिचान हुन सकेको छैन् । हामीलाई युवतीको पहिचान खुलाउन सबैतिर पत्राचार गरिसकेको छौं । पहिचान खुल्ने वित्तिकै घटनाको विषयमा थप पत्ता लाग्नेछ ।–’ उनले भने ।
उनले पाथिभरा मन्दिरमा दर्शन गर्न आएको हुन सक्ने अनुमान गरे । युवतीको अनुहार हेर्दा तराई क्षेत्रको हुन सक्ने बताए । करिब २०–२५ वर्ष उमेर रहेको महिलाको शव आज विहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव हेर्दा गएरातीको घटना हुनसक्ने अनुसन्धानमा खटिएको प्रहरी टोलीको अनुमान छ । युवतीको टाउकोमा चोट लागेको छ । ठाउँठाउँमा रगत चुहिएको प्रहरी निरीक्षक झाले जानकारी दिए ।