करदाताकै रहरले कर तिर्ने दिन कहिले आउला ?

भानुभक्त आचार्य
२ मंसिर २०७६, सोमबार १२:२२

हेटौंडा – आइतबारबाट यो वर्षको कर सप्ताह सुरु भएको छ । नेपालमा मूल्य अभिवृद्धि कर सुरु गरेको अवसरमा आन्तरिक राजस्व विभागले कर सप्ताह मनाउँदै आएको हो । ८ वर्षदेखि हरेक वर्ष मंसिर १ गतेलाई कर दिवस र मंसिर पहिलो सातालाई कर सप्ताहको रुपमा मनाउने गरिएको हो । नेपाल रकारले २०५४ साल मंसिर १ गतेबाट करदाताको तीब्र बिवादका बीच मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याएको थियो ।

मूल्य अभिबृद्धि कर अन्तिम उपभोक्तालाई मात्रै लाग्ने हो भन्दै तत्कालीन सरकारले व्यापारीलाई थामथुम पार्ने प्रयास पनि गरेको थियो । व्यापारीले कडा आलोचना गरिरहँदा मूल्य अभिबृद्धि कर लागू गरिएको थियो । २०६९ कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने निर्णय गरेअनुरुप यो दिवस मनाउन लागिएको हो ।

केन्द्रीयस्तरमा विभागको आयोजनामा र हरेक जिल्लामा आन्तरिक राजश्व कार्यालयले विशेष कार्यक्रम गरी कर दिवस मनाउँदै आएको भएपनि समग्र कर प्रणालीको सुधारका निम्ति भने कर सप्ताहमा कुनै कार्ययोजना आएको छैन । कर स्वस्फुर्त रुपमा तिर्ने वातावरण बनाउन नेपाली समाजमा फलामको चिउरा चपाएसरह नै हुनेछ । बिगतका दिनमा राजश्व कार्यालय मातहतका कर्मचारीले नै कर कम तिर्नका लागि व्यापारीलाई बाटो देखाउने गरेका कारण करछली गर्नेको मनोबल यथावत छ ।

कर सप्ताहमा मूल्य अभिवृद्धि कर, आयकरमा सबैभन्दा धेरै योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान पनि गरिन्छ । यो बर्ष त आन्तरिक राजश्व बिभागले करदाता शिक्षाको लागि सिस्नुपानी नेपालसँग सहकार्य गरेर देश दौडाहा पनि गरेकै हो । तै पनि करदाताले सम्मानीत वा गर्बको अनुभूति गर्न पाएका छैनन् । मैले तिरेको कर ठीक ठाउँमा प्रयोग भएको छ भन्ने कुराको अनुभूति करदातामा पटक्कै छैन ।

पछिल्लो समयमा तीनतहको सरकारले जनतालाई अलगअलग रुपमा कर लिन थालेपछि करदातामा झनै त्राश फैलिएको छ । यतिबेला गाउँगाउँका चियापसले पनि करको दायरामा आएका छन् र आउने क्रम जारी छ । यसलाई सकारात्मक रुपमा लिनु पनि जरुरी छ । तर, करदातामा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम तीनै तहका सरकारसँग छैनन् ।

ग्रामीण क्षेत्रका चियापसलेसँग लिइएको करको आधा हिस्सा उनीहरुकै व्यवसाय प्रबद्र्धनमा लगाउने नीति स्थानीय सरकारसँग छैन । त्यसैले पनि करदाता स्वस्फुर्त रुपमा कर तिर्न आउन सकेका छैनन् । अझ स्थानीय सरकारले करको दायरा बढाउने भन्दा पनि दर बढाएको अवस्था छ । जनताले आयमूलक काम गरेपछि स्वतरुपमा कर तिर्ने वातावरण बनाउने कार्यमा कुनैपनि सरकार संबेदनशील छैनन् ।

नेपालको कर प्रशासन पनि स्वच्छ छैन । त्यसैले होला सरकारले यो बर्षको कर सप्ताहको नारा पनि कर प्रशासन स्वच्छ बनाउने गरी अघि सारेको देखिन्छ । आन्तरिक राजस्व विभागलाई चालु आवका लागि ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ । विभागले लक्ष्यअनुसार नै राजस्व संकलनका लागि विभिन्न रणनीति तयार गरेर अघि बढिरहेको पनि हो ।

बर्तमान कर प्रणालीको संरचनात्मक परिवर्तन गर्नु जरुरी छ । आयातमूखी कर प्रणालीलाई परिबर्तन गरी नेपाली कच्चापदार्थको प्रयोग गरी उत्पादनमुखी बनाउनु जरुरी छ । हाम्रो मुलुकका लाखौं युवा खाडी गएर दुख गरेको पैसा उत्पादनका काममा प्रयोग हुनै सकेन । रेमिट्यान्सको अधिकांश हिस्सा आयातमा निर्भर हुँदै आएको अवस्था छ । यसैले आयातमा निर्भर कर प्रणालीलाई उत्पादनमा निर्भर बनाइनु जरुरी छ ।
रेमिट्यान्सको अधिकांश रकम मोवाइल, घडी, टीभी, ल्यापटप, नोटप्याडजस्ता गजेट्समा गएको अवस्था छ । त्यो बाहेक दालचामल किन्नमा खर्च भएको छ । आफ्नो बारीको पाटो बाँझै राखेर सहर पस्ने र सबै उपभोग्य बस्तु किनेर निर्वाह गर्ने संस्कृतिलाई कर सप्ताहले सम्बोधन गर्न सकेको छैन । पाखोबारी बाँझै राखेर हरेक चिज किन्ने संस्कृतिको अन्त्य गर्नका लागि तीनै तहको सरकारले अभियान नै चलाउन आवश्यक छ ।

दुईतिहाईको सरकारले आन्तरिक आर्थिक क्रियाकलापमा आधारित कर प्रणालीमा रुपान्तरण गर्नु जरुरी छ । करको दायरा विस्तारलाई जोड दिने बहानामा करको दर मात्रै बढिरहेको अनुभूति करदाताको बीचमा छ । विगत ८ वर्षदेखि हरेक वर्ष आजको दिनलाई कर दिवसका रुपमा मनाइँदै आएको भएपनि करदातामा भएको नैराश्यता कर दिवसले समेट्न सकेको छैन ।

उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्रका संस्थाले पनि कर दिवसका अवसरमा विशेष कार्यक्रम गरिरहेका छन् । करका विषयमा नीतिगत एवं व्यवहारिक पाटामा छलफल एवं अन्तक्र्रिया गरिएको भएपनि करदातामा बिश्वास पलाउन सकेको छैन । करसम्बन्धी विविध कार्यक्रम गरेर जनचेतना विस्तार गर्ने प्रयास गरिएको भएपनि कर तिर्नेको संख्यामा खासै सुधार आएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*