सहकारी शिक्षाको पाठ्यक्रम विकास गरिने

प्रहर खबर
१० मंसिर २०७६, मंगलवार १९:३४

ललितपुर – अन्तरराष्ट्रिय सहकारी महासङ्घ–एशिया प्यासिफिकको भेलाले विद्यालय तह र उच्च शिक्षामा सहकारी शिक्षासम्बन्धी पाठ्यक्रम लागू गर्न पहल गरेको छ । राष्ट्रिय सहकारी विकास बोर्डले नेपालमा सहकारी शिक्षाको पाठ्यक्रम विकास गर्ने सम्बन्धमा आज आयोजना गरेको अन्तरराष्ट्रिय भेलामा उक्त कुराको जानकारी दिएको हो ।
सहकारी क्षेत्र देश विकासको मुख्य आधार रहेकाले यससम्बन्धी सम्पूर्ण क्षेत्रमा कार्यरत विज्ञले ज्ञान आर्जन गर्न आवश्यक रहेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताए ।

उनले भने, “मुलुकमा ३४ हजार ७०० सहकारी छन् । राउटे, चमार, हरुवा आदि संलग्न रहेका यस्ता सहकारीको ज्ञान लिन सबै क्षेत्रमा रहेका मानिसले उतिकै जरुरी छ ।” उपत्यकाको प्रदर्शनीमार्गमा रहेको संस्कृत विश्वविद्यालयमा समेत आफूहरुले सहकारी शिक्षा लागू गर्न आह्वान गरेको गौतमले जानकारी दिए ।

मलेशियाको अञ्जकासा संस्थाका अध्यक्ष मोहमद अजलान याह्याले नेपाल सरकारले सहकारी शिक्षा प्रणाली लागू गर्ने प्रयास अघि बढाएकोमा खुशी व्यक्त गरे । सरस्वती क्याम्पसका प्राध्यापक सञ्जय आचार्यले क्यानाडा, बेलायत र जर्मनीजस्ता मुलुकका विश्वविद्यालयमा सहकारी शिक्षाको पढाई हुने गरेको जानकारी दिए ।

उनले भने, “यस शिक्षाको माध्यमबाट हरेक मानिसले रोजगारी, समयको माग, जिम्मेवारीलगायत निर्णय गर्नसक्ने क्षमताको विकास गर्ने छन् ।” सहकारी शिक्षा औपचारिक शिक्षाभन्दा विलकुलै फरक हुने आचार्यले जानकारी दिए ।

राष्ट्रिय सहकारी महासङ्घका सहायक व्यवस्थापक बबुल खनालले सहकारी क्षेत्रमा विशेष गरी महिलाको सहभागिता बढी रहेको बताए । उनले भने, “मुलुकमा ३२५ वटा जिल्लास्तरीय सहकारी सङ्घ, २० वटा केन्द्रीय तहका सहकारी सङ्घ, एउटा राष्ट्रिय सहकारी बैंक र एउटा राष्ट्रिय सहकारी महासङ्घ रहेको हुँदा यहाँ सहकारी शिक्षाको अति नै जरुरी भएको छ ।”

सहकारी शिक्षाले मुलुकमा अर्थतन्त्र बढवाका साथै सक्षम जनशक्ति निर्माण गरिदिने खनालको बुझाइ छ । अन्तरराष्ट्रिय सहकारी महासङ्घ एशिया प्यासिफिकका क्षेत्रीय निर्देशक बालु लयेरले मुलुकले भविष्यका पुस्तालाई कसरी सहकारी शिक्षामा बलियो बनाउने भन्नेतर्फ ध्यान दिन अति नै जरुरी रहेको औँल्याए ।

कार्यक्रममा नेपाललगायत अन्य छ देश जापान, फिलिपिन्स, चीन, भारत, मलेसिया र सिङ्गापुरका सहकारीकर्मीका बीचमा मुलुकको त्रिभूवन विश्वविद्यालय, काठमाडाँै विश्वविद्यालयका प्राध्यापक र केही विद्यार्थीको पनि उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*