पशुपतिनाथ मावि ४५ औं बर्षमा

प्रहर खबर
१६ मंसिर २०७६, सोमबार १३:४३

हेटौंडा – मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविले आईतबार ४४ औं वार्षिकोत्सव मनाएको छ । सिमान्तकृत समुदाय बनकरियाका बालबालिका अध्ययन गर्ने नेपालकै एकमात्र विद्यालयको रुपमा रहेको पशुपतिनाथ माविले आईतबार आयोजना गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले नमूना विद्यालयको रुपमा विकास गर्न आग्रह गरिन् ।

आफूले प्राथमिक शिक्षा यही विद्यालयबाट लिएको बताउँदै उपाध्यक्ष बिष्टले विद्यालयको भौतिक सुबिधासँगै गुणस्तरीय शिक्षामा गाउँपालिकाले सहयोग गर्ने बताईन् । गाउँशिक्षा प्रमुख हरिश्चन्द्र सापकोटाले तहगत दर्बन्दी अभावका बीच पनि पशुपतिनाथ माविले बालबालिकालाई गुणस्तरीय शिक्षाका साथ रचनात्मक क्रियाकलापमा पनि जोड दिइरहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी–४ का वडाअध्यक्ष ध्रुब खड्काले विद्यालयमा आवश्यक दर्बन्दी अभावबीच पनि गुणस्तरीय शिक्षा दिन अग्रसर भएकोमा खुशी ब्यक्त गरे । आफ्नो एक महिनाको तलबभत्ता विद्यालयका गरिब तथा जेहेन्दार २० जना बालबालिकाको अध्ययनमा खर्च गर्ने घोषणा गरे ।

अध्यक्ष खड्काले बनकरिया समुदायको ११ जना बालबालिकाको शिक्षामा सहयोग गर्न वडाका जनप्रतिनिधि भीमलाल रुम्बा, बिष्णु प्रजा, सृजना सुनार, गोमा गौतमसहित आफ्नो एक महिनाको तलबभत्ताबापतको ३७ हजार रुपैयाँ विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यलाई चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विद्यालयले आयोजना गरेको बिबिध खेलकूद प्रतियोगिताका बिजेता छात्रछात्रालाई पुरस्कृत गरिएको थियो । पशुपतिनाथ मावि पूर्बविद्यार्थी संगठनले विद्यालयको ४५ औं स्थापना दिवसको अवसरमा मनहरी गाउँपालिकाभित्रका ८ वटा माविका विद्यार्थीबीच सय मिटर, तीन सय मिटर दौड, सटपुट थ्रो, ज्यावलिङ थ्रोलगायत प्रतियोगिता आयोजना गरेको थियो ।

मनहरी गाउँपालिकाभित्रका विद्यालयस्तरमा पहिलोपटक आयोजना गरिएको सो प्रतियोगिताका बिजेता खेलाडी तथा विद्यालयलाई पनि पुरस्कृत गरिएको थियो । यसैबीच पूर्बविद्यार्थ संगठनले आईतबार बिहान विद्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको संगठनका अध्यक्ष पुस्कर रेग्मीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*