सिमेन्ट बिक्री नभएपछि सालीमार सिमेन्टको खानी बन्द, हेटौंडा सिमेन्ट डेढलाख बोरा गोदाममा

भानुभक्त आचार्य
१६ मंसिर २०७६, सोमबार २०:५३

हेटौंडा – निजी क्षेत्रको सिमेन्ट उद्योग शालीमार सिमेन्टको भीमफेदी गाउँपालिकास्थित खानी २ महिनादेखि बन्द भएको छ । खानी क्षेत्रमा उत्खनन गर्ने कार्य दसैंपछि सुरु हुनै नसकेको उत्खनन कार्यमा संलग्न कर्मचारी शंभुसिंह कार्कीले बताए । उत्पादन भएको सिमेन्ट बिक्री नभएपछि उद्योगले खानी चलाउन नसकेको हो । खानी क्षेत्रमा उत्खनन कार्य गरिरहेका मेसिनरी पनि कामबिहीन बन्न पुगेको छ ।

शालीमार सिमेन्ट उद्योगको खानी बन्द भएपछि खानीमा रहेका एक दर्जन हेभी मेसिन तथा खानीबाट उद्योगसम्म चुनढुँगा ढुवानी गर्ने ७५ वटा ट्रिपरहरु थन्किएका छन् । खानी क्षेत्रमा काम गर्ने चार सय कामदार कर्मचारीको रोजीरोटी नै संकटमा परेको छ । हेटौंडामा मात्रै तीनवटा ठूला सिमेन्ट उद्योग छन् । भीमफेदी कैलाश र मकवानपुरगढी गाउँपालिकाको बिभिन्न स्थानमा चुनढुँगा उत्खनन् कार्य भइरहेको छ । बिभिन्न सिमेन्ट उद्योगले मकवानपुरमा मात्रै एक दर्जन खानी सञ्चालन गरिरहेका छन् ।

कुनैबेला सिमेन्टका उपभोक्ताले महिनौं कुर्दा पनि सहज उपलब्ध नभएर कालोबजारीमा खरिद गर्नु पर्ने हेटौंडा सिमेन्ट अहिले बिक्री नभएर गोदाममै एक लाख ५० हजार बोरा थन्किएको छ । गुणस्तरीय सिमेन्टको पहिचान बनाएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग अहिले बजार खोजी गर्नु पर्ने अवस्थामा पुगेको छ ।

बिक्रीमा व्यापक कमी आएपछि स्थानीय जनप्रतिनिधिसँग सिमेन्ट बिक्री बढाईदिन गुनासो गर्न थालेको छ । दैनिक करिब १० हजार बोरा सिमेन्ट उत्पादन हुने हेटौंडा सिमेन्ट बिक्री भने ४ हजार बोरा मात्रै भइरहेको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए । उद्योगको उत्पादन अहिले गोदाममा भण्डारण गर्न समस्या भएपछि उद्योगले जनप्रतिनिधि गुहार गर्न थालेको हो । बिक्री बढाउन मूल्य घटाइए पनि योजनाअनुसार बिक्री भइरहेको छैन ।

बिक्री बढाउनका लागि मकवानपुरका स्थानीय तहको जनप्रतिनिधिसँग अन्तक्रिया गरिरहेको महाप्रबन्धक सिंहले बताए । स्थानीय सरकारले सडक, पुल, भवन निर्माण गर्दा सरकारी स्वामित्वकै उद्योगको उत्पादन प्रयोग गर्न उद्योगले आग्रह गरेको हो । देशभरका १ सय ६२ डिलरमार्फत् बिक्री हुने हेटौंडा सिमेन्ट अहिले एक कलाख ५० हजार बोरा गोदाममा मौज्दात रहेको सिंहले बताए ।

उद्योगले चालु आर्थिक वर्षमा सिमेन्टको बिक्री बढाउन दुई पटक मूल्य घटाएको छ । असोज ७ गते सिमेन्ट प्रतिबोरा बिक्री मूल्य ८ सय २५ रुपैयाँबाट घटाएर ८ सय रुपैयाँ कायम गरेको थियो । फेरि कात्तिक २७ गते ७ सय ४९ रुपैयाँ कायम गरेको छ । यति गर्दा पनि उद्योगको उत्पादन बिक्री नहुँदा उद्योगले जनप्रतिनिधि गुहारेको हो ।

उद्योगमा करिब १ लाख ५० हजार बोरा सिमेन्ट र ४ लाख ५० हजार बोरा क्लिंकर बिक्री नभएर थन्किएको महाप्रबन्धक सिंहले जानकारी दिए । यस्तै अबस्था रहने हो भने अब उत्पादन हुने सिमेन्ट राख्न स्थानको अभाव हुनेछ । हेटौंडा सिमेन्ट उद्योगको दैनिक १६ हजार बोरा उत्पादन क्षमता छ । उद्योगमा ३ सय ७० कर्मचारी कार्यरत् छन् । हाल उद्योग ७० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*