कतारमा एकैदिन थपिए १५५४ कोरोना संक्रमित

अनिल पराजुली
८ जेष्ठ २०७७, बिहीबार २२:०९

कतार – कतारमा आज १५ सय ५४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४५ जनाको जाँच गर्दा १५ सय ५४ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै कतारमा संक्रमितको संख्या ३८ हजार ६ सय ५१ पुगेको छ ।

कतारमा कोरोना भाइरस संक्रमणका कारण आज ८१ बर्षीय नागरिकको मृत्यु भएको छ । यो संगै कतारमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७ हजार २ सय ८८ निको भएर घर फर्किएका छन् । आज मात्रै ६ सय ८८ जना संक्रमित निको भएर फर्केका हुन् ।

३१ हजार ३ सय ४६ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म १ लाख ७५ हजार ४ सय ८२ जनाको कोरोना जाँच भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।

कतारमा कोरोना संक्रमित मध्ये १ हजार ५ सय ५५ जनालाई अस्पतालमा राखेर उपचार भईरहेको छ भने पछिल्लो २४ घण्टामा ३ सय २३ जना अस्पताल भर्ना भएका छन । त्यस्तै आइसियूमा राखेर १ सय ७१ जनाको उपचार भईरहेको मध्ये पछिल्लो २४ घण्टामा २४ जना थपिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जानकारी दिएको छ । एक महिना बढी अस्पतालमा उपचार गराएका र कुनै लक्षण नदेखिएका कोरोना पोजेटिभ भएकालाई पनि अस्पतालबाट डिसचार्ज गरिएको छ । उनीहरु अहिले कोठामा आएर बसेका छन् ।

कोरोना संक्रमितको संख्या थपिदै जाँदा पोजेटिभ देखिएकाहरुलाई समेत अस्पताल लगिएको छैन । उनीहरु कोठामै बस्न बाध्य भएका छन् । संक्रमित मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*