चिन्तैचिन्तामा किसान, सरकारको कृषिक्रान्ति नारामै सीमित

भानुभक्त आचार्य
भानुभक्त आचार्य
१४ असार २०७७, आईतवार २१:४३

सन्दर्भः राष्ट्रिय धान दिवस

सरकार कृषि क्रान्ति गर्ने भन्छ तर, मलबीउ उपलब्ध गराउनै सक्दैन । किसानलाई अनुदान दिने भन्छ तर, नक्कली किसान र बिचौलियाले मात्र पाउने गरी कार्यबिधि बनाउँछ । सरकार कृषिमा आत्मनिर्भर बनाउने भन्छ तर, किसानलाई सम्मानजनक ब्यबहार गर्नै सक्दैन । यो सबै कुरा आज केवल कागजको पानामा मात्रै सीमित भएको छ ।

आज राष्ट्रिय धान दिवस । यो दिवसले किसानलाई पीडा मात्रै दिएको छ । पानी धेरै परेपनि किसानलाई चिन्ता, पानी नपरे पनि चिन्ता, रोग लागे पनि चिन्ता, बीउ नपाएपनि चिन्ता, मल नपाएपनि चिन्ता, सलह आए पनि चिन्ता । दिनरात खेतबारीमा पसिना बगाउने किसानलाई समाजले हेर्ने दृष्ट्रिकोण पनि नाजुक छ ।

सुकिलामुकिलालाई ठुलो मान्छे ठान्ने तर, किसानलाई अनादर गर्ने समाजको प्रबृत्तिका कारण हाम्रो समाजमा किसानले निरिह भएर बाँच्नु परिरहेको छ । दिनरात पसिना बगाएर अन्न फलाउने किसानको सबैभन्दा ठूलो पीडा भनेको उसले उत्पादन गरेको बस्तुको मूल्य निर्धारण गर्ने अर्कै हुन्छ ।


किसानले उत्पादन गर्छ तर, मूल्य निर्धारण ब्यापारी गरिरहेका हुन्छन् । यही कारणले बास्तबिक किसानको उन्नति हुन सकेको छैन । हाम्रो समाजमा काम धेरै गर्ने किसानको कमाई थोरै छ तर, थोरै काम गर्नेको कमाई धेरै छ । यही बिभेदका कारण आज किसानले कृषि पेशाबाट बिस्थापित बन्नु परेको छ ।

यतिबेला मनसुन शुरु भएसँगै धान रोपाईं सुरु भएको छ । मध्य असारमा धानखेतीका लागि आबश्यक मलको अभाव छ । बागमती प्रदेशको कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा एक लाख ३४ हजार हेक्टर जमिनमा धानखेती हुनेगर्छ । त्यसमध्ये हालसम्म ३१ हजार पाँचसय हेक्टरमा रोपाईं सकिएको छ । नेपालमा यतिबेला रोपाईं धमाधम भइरहेको छ । रासायनिक मल अभाव रहेको भन्दै किसानले गुनासो गरिरहेका छन् ।

किसानले पसिना बगाएर उत्पादन गरेको धानको मूल्य नपाएपछि किसान चिन्तित बनेका छन् । ढुटोको भाउ भन्दा पनि धानको भाउ सस्तो भएको भन्दै धान उत्पादक किसानले चिन्ता गरेका छन् । सरकारले तय गरेको धानको समर्थनमूल्यमा धान बिक्री गर्दा किसान मर्कामा छन् । अर्कोतिर उपभोक्ताले चामल सस्तोमा पाएका छैनन् । किसानले उत्पादन गरेको धान उपभोक्ताले पकाउने भान्सामा आईपुग्दा त्यसको मूल्य तीन गुना बढी पुगिरहेको छ ।

अहिले बर्षेधान १८ रुपैयाँ प्रतिकिलोका दरले बिक्री भएको छ । तर, बजारमा मोटा चामलको मूल्य भने प्रतिकेजी ४० रुपैयाँ भन्दा माथि छ । १८ रुपैयाँमा किसानले धान बिक्री गर्नु पर्ने तर, उपभोक्ताले चामल भने ४० रुपैयाँ भन्दा बढी तिर्नुपर्ने अवस्था छ । सामान्यतया एकसय केजी धान कुट्दा ७० केजीसम्म चामल उत्पादन हुने व्यापारीहरु बताउँछन् । धान व्यापारीका अनुसार किसानले खेतमा झारेर ल्याएको धान १८ रुपैयाँसम्म दिएर किनिएको छ ।

आलो धान राम्रोसँग सुकेको पनि हुँदैन त्यसैले १८ देखि २० रुपैयाँसम्म मूल्य कायम भएको धानव्यापारीले जानकारी दिएका छन् । बजारमा सस्तो चामलको मूल्य ४० रुपैयाँ रहेको छ । बिचौलियाले नै बढी कमिसन खाने प्रबृत्तिले किसानमा नैराश्यता पैदा भएको छ । अर्कोतिर धानखेती गर्ने किसानको आकर्षण हाइब्रीड बीउतर्फ बढेपछि मकवानपुरमा मौलिक जातका धानको बीउ लोप हुने अवस्थामा पुगेको छ । हाईब्रिड बीउले धानको उत्पादनमा वृद्धि हुने भएको कारण स्थानीय जातको धानखेती हुन छोडेको छ ।

दिनप्रतिदिन बढिरहेको खाद्यसंकटलाई थेग्ने गरी राज्यले किसानलाई हाईब्रीडतर्फ लैजान सकेको पनि छैन । हाम्रो समाज वल्लो घाट न पल्लो तिर भएको छ । ग्रामीण क्षेत्रमा स्थानीय जातको धानखेती हुन छाडेको छ । सामान्यतया किसानले बर्षेधान हाईब्रिड जातकै खेती गर्न रुचाउने गरेका छन् । हामीले न त हाम्रो रैथाने जातको अन्नको संरक्षण गर्न सक्यौ न त पूर्णरुपमा हाइब्रिडमै जान सक्यौं । हामीले स्रोत बीउ र मूलबीउ पनि चिन्न सकेनौं । यहाँनिर हाम्रो कृषि पद्दति असफल छ ।

हाईब्रिड बीउले उत्पादन बढेको भएपनि कृषकमा अन्नबाली सञ्चित गर्ने प्राविधिक ज्ञानको अभावका कारण मुसाले खाने, कुहिने, घरेलु मदिरा उत्पादन गर्ने, अखाद्य रुपमा प्रयोग गर्ने कारणले गर्दा मकवानपुरमा वर्षेनी धान तथा अन्य खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने वाध्यता छ । अर्को समस्या भनेको किसानले खेतमा धान चुट्ने खेताला नपाएर हैरानी बेहोर्नु परेका छ । गाउँघरमा चलनचल्तीमा चलेको ज्याला दिन्छु भन्दा पनि खेताला नपाउने अवस्था छ ।

धान भित्राउने खेताला नपाएपछि थ्रेसर (धान ठटाउने मेशिन) लगाउन बाध्यता भएको छ । मनसुनमा परिबर्तन आएका कारण बिगतका बर्षमा भन्दा यो बर्ष सामान्यतया चाँडै धान पाकेपछि किसान धान थन्क्याउन ब्यस्त छन् । देशका युवा जति बैदेशिक रोजगारीमा गएका कारण गाउँमा खेताला पाईन छाडेकोले किसान हैरान छन् । हाल किसानका लागि सबभन्दा ठूलो समस्या भनेकै मल हो । पैसा तिरेर मल किन्छु भन्दा पनि पाउन सकेका छैनन् ।

नेपालमा भर्खर देखिएको सलह कीराले धानको ब्याड नै नष्ट गर्छ कि भन्ने चुनौती थपिएको छ । सरकाले यसका लागि समिति निर्माण गर्नका लागि केवल छलफल मात्र चलाएको छ । यस वर्ष कोरोना महामारीले पनि धान उत्पादनमा नकारात्मक प्रभाव पार्ने निश्चित छ । कृषिप्रधान मुलुक भनिरहँदा कृषि पेशाको सम्मान गर्न नसक्नुले पनि हाम्रो मानशिकता कति कमजोर छ भन्ने स्पष्ट पारेको छ । १० कक्षा पढेका युवा धानखेतको हिलोमा पस्नै चाहन्नन् । यसले पनि हाम्रो समग्र शैक्षिक प्रणालीलाई चुनौती दिएको छ ।