सत्तारुढ दल सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण: कमल थापा

प्रहर खबर
१७ असार २०७७, बुधबार १३:२९

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई आपसमा मिलेर काम गर्न सुझाव दिएका छन् । सिंगो देश एकजुट हुनुपर्नेमा सत्तारुढ दल नै सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले आपसमा मिलेर काम गर्न सुझाव दिएका हुन् ।

नेकपाभित्रको विवादमाथि सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले जनताले ५ बर्षका लागि बहुमत दिएको भन्दै आपसमा मिलेर काम गर्न नेकपाका शिर्ष नेताहरुलाई आग्रह गरेका छन् ।

उनले भनेका छन् – ‘सिमा विवाद चरमोत्कर्षमा पुगेको,कोभिड–१९ महामारी व्यापक भएको र अर्थतन्त्र धराशायी हुंदैगएको बेला सिंगोदेश एकजुट हुनुपर्नेमा सत्तारुढ दल सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण छ । ५ बर्षकोलागि जनताले बहुमत दिएका हुन् । आपसमा मिलेर काम गर्नुहोस्।’

बालुवाटारमा हिजो बसेको नेकपा स्थायी समितिको बैठकमा नेकपाभित्रको ‘युद्धविराम’ भंग भएको थियो । उक्त बैठकमा बोल्ने १८ जना सदस्यमध्ये १७ जनाले प्रधानमन्त्रीको नेतृत्व र कार्यशैली ठिक नभएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।