रामबहादुर, युवराज र अनिशाले जीते राष्ट्रिय बुद्धिचालको उपाधि

प्रहर खबर
२४ असार २०७७, बुधबार १७:२७

काठमाडौं – नेपाल बुद्धिचाल संघको आयोजनामा भेट्रान, यू–२० खुल्ला र महिला राष्ट्रिय बुद्धिचाल (चेस) प्रतियोगिता सम्पन्न भएको छ । यही जुलाई ४ देखि ६ सम्म भएको तीन समूहका प्रतियोगितामा कास्कीका रामबहादुर क्षेत्री भेट्रानतर्फ, युवराज पौडेल यु–२० तर्फ र अनिशा न्यौपाने महिलातर्फ राष्ट्रिय च्याम्पियन भएका छन् ।

स्वीस लिग प्रणालीअनुसार सातौं चरणसम्मको खेलमा रामबहादुरले ५.५ अंक जोड्दै उपाधि हात पारेका हुन् । उनले नगद ३ हजार पनि पाएका छन् । कास्कीका बिनोद नालमी ५ अंक जोड्दै दोस्रो भए । समान ५ अंक जोडेका भक्तपुरका शिवसुन्दर गाइजु तेस्रो भए । उनीहरु तीनै जनाले आउँदो २९ असारमा हुने एशियन भेट्रान्समा प्रतिनिधित्व गर्नेछन् ।

यु–२० खुल्लातर्फ स्याङ्जाका युवराज पौडेलले नवौं चरणसम्मको खेलमा ८ अंक जोड्दै उपाधिसहित नगद तीन हजार पाएका छन् । काठमाडौंका विवेक श्रेष्ठ ७.५ अंक जोड्दै दोस्रो र भक्तपुरका निकेश कुस्थाले तेस्रो स्थान हासिल गरे ।

महिलातर्फ काठमाडौंकी अनिशा न्यौपाने पहिलो, झापाकी कृतिसरा अधिकारी र रुपन्देहीका नमन सेढाईले दोस्रो र तेस्रो स्थान पएका थिए । युवराज र अनिशाले आउँदो ७ साउनमा हुने चेस ओलम्पियाडमा नेपालको टिमबाट सहभाजिता जनाउन पाउनेछन् ।