कतारबाट थप ४६३ नेपाली स्वदेश फर्किए

अनिल पराजुली
२४ असार २०७७, बुधबार २२:४१

कतार – कतारको दोहाबाट बुधवारको तीन उडान मार्फत ४ सय ६३ जना नेपालीहरू स्वदेश फर्केका छन् ।

नेपाल वायु सेवा निगम, हिमालय एयरलाइन्स र कतार एयरवेजको उडानबाट नेपालीहरु स्वदेश फर्केका हुन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको एघारौं उडान मार्फत ३ जना महिला र १ सय ४५ पुरुष गरि जम्मा १ सय ४८ जना लिएर नेपाल वायु सेवा निगमको जहाज स्वदेश फर्केको हो । कोविड–१९ को समयमा मृत्यु भएका दुई जना नेपालीको शव पनि सोही उडान मार्फत नेपाल पठाइएको दूतावासले जानकारी दिएको छ ।

त्यस्तै हिमालय एयरलाइन्सको उडान मार्फत १ सय ५४ जना स्वदेश फर्केका छन् । हिमालय एयरलइन्सको एच नाइन ५६३२ उडान मार्फत एक महिला सहित १ सय ५३ जना गरि जम्मा १ सय ५४ नेपालीहरु स्वदेश फर्केका हुन् ।

त्यस्तै कतारको कारागारमा बिभिन्न अभियोगमा सजाय भुक्तान गर्ने क्रममा आम माफी पाएका, कतारको कानुन उलङघन गरेर स्वदेश फिर्तीको प्रक्रियामा रहेका र कतारको फिर्ती केन्द्रमा रहेका १ सय ६१ जना नेपाल फर्केका छन् । दूतावासले यहाँको सरकार संग समन्वय गरेर कतार एयरवेयजको क्यूआर ३३४६ को उडान मार्फत उनीहरुलाई स्वदेश पठाएको हो । यसअघि १९ जुन २०२० मा आम माफी पाएका ४३ जनालाई कतार सरकारले कतार एयरवेयजको उडान मार्फत नेपाल पठाएको थियो ।

कतारमा कोभिड–१९ पश्चात दुई हजार २ सय ३७ जना स्वदेश फर्किसकेका छन् भने यहाँबाट ३६ जना नेपालीको शव लगिएको थियो ।

कतारको दोहा स्थित हमाद अन्र्तराष्ट्रिय विमान स्थलबाट प्राथमिकतामा परेका, दीर्घरोगी, रोजगारी गुमाएका, स्वदेश फर्कनै पर्ने र आम माफी पाएका नेपालीहरुलाई स्वदेश पठाइएको थियो । उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नका लागि दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।