कतारमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, थप चारको मृत्यु

अनिल पराजुली
२४ असार २०७७, बुधबार २२:४५

कतार – कतारमा आज एकैदिन ६०८ कोरोना संक्रमित थपिएका छन् भने थप चार जनाको मृत्यु भएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २ सय २ जनाको जाँच गर्दा ६०८ नयाँ संक्रमित थपिएका हुन् । यससँगै कतारमा संक्रमितको संख्या १ लाख १ हजार ५ सय ५३ पुगेको छ ।

कतारमा कोरोना भाइरस संक्रमणका कारण आज चार जनाको मृत्यु भएको छ ।
५० बर्षीय, ५५ बर्षीय, ६७ बर्षीय र ७४ बर्षीय नागरिकको मृत्यु भएको हो । यो संगै कतारमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९६ हजार १ सय ७ डिस्चार्ज भएर घर फर्किएका छन् । आज मात्रै १२ सय ४ संक्रमित डिस्चार्ज भएर फर्केका हुन् । कतारमा पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्ग निर्देशन अनुसार उपचार बिधि अपनाइएको छ ।

५ हजार ३ सय ८ कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म ३ लाख ९६ हजार १ सय ९९ जनाको कोरोना जाँच भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।

कतारमा कोरोना संक्रमित मध्ये ७ सय १२ जनालाई अस्पतालमा राखेर उपचार भईरहेको छ भने पछिल्लो २४ घण्टामा ६० जना अस्पताल भर्ना भएका छन । त्यस्तै आइसियूमा राखेर १ सय ५४ जनाको उपचार भईरहेको मध्ये पछिल्लो २४ घण्टामा ८ जना थपिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जानकारी दिएको छ ।

यहाँको सरकारले कोभिड–१९ बाट बच्नका लागि सामाजिक दुरी कायम गर्न, अनिवार्य रुपमा माक्स प्रयोग गर्न तथा मोवाइल एप एथेराज पनि अनिवार्य गरेको छ । पछिल्लो समय कतारमा कोरोना संक्रमितको संख्या भने घट्दै गएको तथ्याङक छ ।

संक्रमित मध्ये अधिकांश आप्रवासी नागरिकहरु रहेका छन् भने उनीहरुको राष्ट्रियता यहाँको सरकारले खुलाएको छैन । कतारमा हाल करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।