शिक्षक निदाएका छैनन्

भानुभक्त आचार्य
भानुभक्त आचार्य
२७ असार २०७७, शनिबार २१:५३

शैक्षिक गतिबिधिलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर असार २८ गते आइतबार मकवानपुरको थाहा नगरपालिका र मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुको बैठक बोलाएको छ । स्थानीय सरकारले पनि सम्भावना हेरेर बैकल्पिक बिधिको अवलम्बन गर्नु जरुरी छ । यतिबेला बालबालिकालाई नियमित रुपमा शैक्षिक गतिबिधिसँग जोड्नका लागि रेडियो, टेलिभिजन, जुम, स्काइप, भाइबर, म्यासेन्जर जस्ता एपहरु प्रयोग भएका छन् ।

तर, यो सबै प्रबिधिको पहुँच ग्रामीण क्षेत्रमा छैन । ग्रामीण क्षेत्रमा कुन बिधि प्रयोग गरेर बालबालिकालाई शैक्षिक गतिबिधिसँग जोड्ने भन्ने बिषयमा पालिकाहरुले नै निर्णय गर्न सक्छन् । लामो समयसम्म बालबालिकालाई शैक्षिक गतिबिधिबाट अलग राख्दा नकारात्मक अवस्था सृजना हुन सक्छ । यो बिषयमा पालिकाहरुले ब्यापकरुपमा बहस गर्न अब ढिलाई नगरौं । बालबालिकाको अत्यन्तै महत्वपूर्ण समय बिना मतलबमा खेर जान दिनु भनेको मुलुकको लागि ठूलो घाटा हो ।

पछिल्ला केहीदिन यता सामाजिक सञ्जालमा शिक्षक निदाएका छैनन् भन्ने बिषयमा खुबै चर्चा भएको छ । तर, केही अभ्यासहरु सकारात्मक भएर पनि बालबालिकाको पहुँचमा पुग्न सकेको छैन । पछिल्लो पुस्ताका बालबालिकालाइ घरका अभिभावकले पनि अध्ययन अध्यापनमा सहभागी गराउन मुस्किल परिरहेको छ । सुबिधासम्पन्न विद्यालय र प्रबिधिको पहुँच भएका अभिभावकले पनि आफ्ना नानीबाबुको अध्ययनमा खासै चासो देखाइरहेका छैनन् ।

सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण शैक्षिक संस्था बन्द भएपछि शिक्षकले घरमै बसेर तलब खाने काम मात्र गरेको आरोप लाग्दै आएको छ । नेपालको विद्यालय शिक्षा प्रणालीमा एक शैक्षिकसत्रमा सामान्यतथा २ सय दिन पढाइ हुनुपर्दछ । कोरोना महामारीका कारण यो बर्षको शैक्षिकसत्र नै कोल्याप्स गर्ने वा बैकल्पिक प्रणालीबाट निरन्तरता दिने भन्ने बिषयमा बहस भइरहेको छ ।

पछिल्लो पटक सरकारले विद्यालयदेखि टाढा रहेका शिक्षकलाई साउन १ गतेदेखि अनिवार्यरुपमा आफू कार्यरत विद्यालयमा पुग्न सूचना जारी गर्ने तयारी गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को जोखिमका कारण सरकारले घोषणा गरेको लकडाउन पछि कतिपय शिक्षक विद्यालयदेखि टाढा रहेको आफ्नो घरमा रोकिएका छन् । महामारीको अवस्था विश्लेषण गरी स्थानीय सरकारले विद्यालय कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्नु पर्दथ्यो ।

पालिकाहरुले नै अनुकूलता हेरेर पालिका भित्रका विद्यालय सञ्चालनको मोडालिटी तय गर्न अब ढिलाई गर्नु हुँदैन । अवस्था सामान्य भएको ठाउँमा स्वास्थ्यसम्बन्धी पूर्णसावधानी अपनाएर बालबालिकालाई विद्यालयमै बोलाएर पठनपाठन गर्न सकिने वा नसकिने बिषयमा बहस गरौं । जोखिमको अवस्थाको बिश्लेषण गरौं । अवस्था असामान्य भएको ठाउँमा वैकल्पिक विधिबाट बालबालिकाको पठनपाठन सुचारु गर्न पहल गरौं ।

गएको असार १ गतेबाट विद्यालय खुल्न नसके पनि प्रशासनिक, बैकल्पिक रुपमा शैक्षिक गतिविधि सञ्चालन, बालबालिकाको सम्पर्कमा पुगेर पठनपाठनमा सघाउन सरकारले आग्रह गरेको थियो । जेठ २८ गते सरकारले लकडाउनको मोडालिटि परिवर्तन गरेर विद्यालयको प्रशासन खोल्न सकिने र शिक्षक विद्यालय जान सक्ने निर्णय गरेको थियो ।

कतिपय शिक्षक आफूहरु कार्यरत विद्यालय भएको ठाउँसम्म पुग्न नसकेको अवस्थाका कारण घरै बसिरहेका छन् । सबै ठाउँमा विद्यालय खोल्ने वातावरण छैन । कतिपय विद्यालयमा क्वारेन्टाइन बनाएका कारण त्यस्ता विद्यालयका शिक्षकले आफ्ना विद्यार्थीको हेक्का राख्ने, सोधीखोजी गर्ने, टोलटोलमा सम्पर्क प्वाइन्ट बनाउने, प्रबिधिको अधिकतम प्रयोग गरी विद्यालयको शैक्षिक गतिविधि गर्न सकिन्छ ।

अहिलेको अवस्था अत्यन्तै प्रतिकुल हो । यस्तो बेलामा पहिलेकै सामान्य जनजीवको अवस्था जस्तो सोचेर हुँदैन । बालबालिकाको सम्पर्कमा शिक्षक पुग्ने वातावरण स्थानीय सरकारले गर्नै पर्छ । जोखिमका कारण अस्तव्यस्त बनेको बालबालिकाको शिक्षण क्रियाकलापलाई सहज बनाउने बिभिन्न मोडालिटीहरु हुन सक्छन् । त्यसको खोजी गरौं । समाज, भौगोलिक अवस्था, कोरोना संक्रमणको अवस्था, सम्भाबित जोखिमका बारेमा बहस किन नगर्ने ?

कोभिड जोखिमका कारण तत्काल विद्यालय खुल्नसक्ने अवस्था नभएकोले बिकल्पको खोजीमा हामी सबै जुटौं । उदाहरणका लागि जोखिम कम भएका ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरुले आइतबार कक्षा १० र १, सोमबार कक्षा ९ र २, मंगलबार कक्षा ८ र ३, बुधबार कक्षा ७ र ४, बिहीबार कक्षा ६ र ५ का बालबालिकालाई अनौपचारिक रुपमा विद्यालयमा बोलाएर हप्ता दिनका लागि गृहकार्य दिने र उनीहरुलाई अप्ठ्यारो लागेको बिषयमा भौतिक दूरी कायम गरी सिकाउने उपाय गर्न सकिन्छ ।

सरकारले असार १ बाट वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ सुरु गरेको घोषणा गरे पनि सम्बद्ध निकायले समयमा चासो नदिदाँ लाखौं विद्यार्थी सिकाइबाट वञ्चित छन् । कतिपय बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् । शिक्षकरुले थोरै चासो राख्ने हो भने बालबालिकालाई धेरै बिकल्प दिन सकिन्छ । बालबालिकाको महत्वपूर्ण समय त्यसै खेर जान नदिने हो भने पालिकाहरुले यो बिषयमा गंभिर रुपमा कदम चाल्नै पर्छ ।

यतिबेला ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययन गर्ने लाखौं बालबालिका वैकल्पिक विधिबाट सुरु गरिएको सिकाइमा जोडिन सकेका छैनन् । स्थानीय सरकारले अनुकूलता हेरेर बिकल्पको खोजी गर्नु जरुरी छ । शिक्षाका लागि गरिने परम्परागत लगानीलाई थोरै परिबर्तन गरौं । बालबालिकाको भबिश्यप्रति थोरै चिन्ता गरौं र बिकल्पको खोजी गरौं । स्वअध्यय गर्न नचाहने बालबालिको संख्या अत्यधिक छ । यसका लागि अभिभावकले पनि चासो र चिन्ता गर्नु जरुरी छ ।