कस्तो रहला आज दिनभरको मौसम ?

प्रहर खबर
१७ श्रावण २०७७, शनिबार ०८:४५

काठमाडौं – मनसुनी वायुको प्रभाव तथा मनसुनी न्यूनचापीय रेखा पूर्वी तराई नजिकै रहेकाले शनिबार अधिकांश स्थानमा ठूलो बर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठकाअनुसार आज प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।

तर लगातारको झरी भने कतै पनि नहुने उनले जानकारी दिए । पर्सिसम्म हिजोअस्तिकोभन्दा थोरै पानी परे पनि मंगलबार र बुधबार भने केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् श्रेष्ठले बताए ।

उनका अनुसार प्रदेश ४ र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने संभावना छ । मंगलबार र बुधबार विशेषगरी कैलाली, कन्चनपुर आसपासका जिल्लामा ठूलो पानी पर्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन उनको सुझाव छ ।