बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १०६ पुग्यो, ७० हजार भन्दा बढीको कोरोना परिक्षण

प्रहर खबर
१७ श्रावण २०७७, शनिबार ०८:५०

हेटौंडा – बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ हजार १ सय नाघेको छ । शुक्रबार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंमा ३२ जना, ललितपुरमा ५, नुवाकोटमा २ र भक्तपुरमा एक जना गरि कुल ४० जना संक्रमित थपिएसंगै १ हजार नाघेको बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयका कोभिड–१९ का प्रबक्ता डा. पुरुषोतम् राज सोढाईले जानकारी दिए ।

यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १०६ पुगेको छ । जसमध्ये महिला २७.८० प्रतिशत र पुरुष ७२.२० प्रतिशत रहेका छन् भने २१ देखी ५० बर्ष उमेर समुहका महिला तथा पुरुषमा संक्रमण भएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण पुष्टि भएका मध्ये ५२६ जना (४६.६० प्रतिशत)ले कोरोनालाई जितेर घर फर्किएका छन् भने ५७० जना (५१.५ प्रतिशत) प्रदेशका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

यस प्रदेशमा कोरोनाबाट १० जना (०.९ प्रतिशत)को मृत्यु भएको छ । प्रदेशको क्वारेन्टिनमा ९५८ जना र होम क्वारेन्टिनमा एक हजार १६६२ जना रहेका छन् भने आइसोलेशनमा ३२४ जनालाई राखिएको छ ।

बागमती प्रदेशको १३ जिल्लामा मध्ये रसुवा कोरोना मुक्त भएको छ । रसुवामा रहेको कोरोना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएसंगै कोरोना मुक्त भएको हो । तर, कोरोना संक्रमण देखिन सक्ने जोखिम कायममै रहेको डा. सोढाईले जानकारी दिए ।

प्रदेशमा ७० हजार भन्दा बढीको कोरोना परिक्षण

प्रदेशमा हालसम्म पिसिआर प्रविधिबाट ३३ हजार ५७७ जना र आरडिटी प्रविधिबाट ३७ हजार १८ जना गरी कुल ७० हजार ५९५ जनाको कोरोना परिक्षण गरिएको देशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।