मकवानपुरमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१ पुग्यो

प्रहर खबर
२१ श्रावण २०७७, बुधबार ११:५३

हेटौंडा – मकवानपुरमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा हेटौडा उपमहानगरका एक सहित २ जनामा कोरोना पोजेटिभ देखिएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिए ।

चौलागाईका अनुसार हेटौडा उपमहानगरपालिका वडा नं.९ की ४६ बर्षिया महिला र मकवानपुरगढी गाउँपालिका वडा नं.५ का ७० बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएका दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र हेटौंडा– ४ कर्रा स्थित आईसोलेसन वार्डमा ल्याउने तयारि भइरहेको चौलागाईले बताए।

हिजो मात्रै थाहा नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बस्दै आएका बीरगंज महानगरपालिका वडा नं.२३ का युवक र हेटौंडा–१० का एक महिला र पुरुषमा कोरोना देखिएको थियो ।

हालसम्म मकवानपुरका ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानिय तहको आधारमा हेर्ने हो भने हेटौंडा उपमहानगरपालिकामा सबै भन्दा बढी १९ जना, मनहरीमा १२, थाहानगरपालिकामा ७, भिमफेदीमा दुई, बागमतीमा ३, बकैया, कैलाश,इन्द्रसरोबर, मकवानपुरगढी, राक्सिराङका एक/एक जनामा संक्रमण देखिएको चौलागाईले जानकारी दिए । मकवानपुरगढी गाउँपालिकामा पहिलो पटक देखिएको हो ।

हेटौंडामा रहेको आइसोलेसनमा हालसम्म आज पुष्टि भएका सहित ३६ जना संक्रमितले सेवा लिएका मध्ये २७ जना उपचारपछि डिस्चार्ज भएका छन । हाल आज संक्रमण पुष्टि भएका सहित ९ जना आइसोलेसनमा उपचाररत छन् ।