मकवानपुरमा एकैदिन चार जनामा कोरोना पुष्टि

प्रहर खबर
२१ श्रावण २०७७, बुधबार १७:४८

हेटौंडा – मकवानपुरमा आज (बुधवार) एकैदिन चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोना पोजेटिभ देखिएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिए ।

चौलागाईका अनुसार हेटौडा उपमहानगरपालिका वडा नं. २ का २२ बर्षिय पुरुष र बारा जिल्ला स्वर्ण गाउँपालिका वडा नं.२ का १ जना पुरुष रहेका छन । संक्रमण पुष्टि भएका दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र एक जना संक्रमितलाई हेटौंडा– ४ कर्रा स्थित आईसोलेसन वार्डमा ल्याउने तयारि भइरहेको चौलागाईले बताए।

आज बिहान मात्रै हेटौडा उपमहानगरपालिका वडा नं.९ की ४६ बर्षिया महिला र मकवानपुरगढी गाउँपालिका वडा नं.५ का ७० बर्षिय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

हिजो पनि थाहा नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बस्दै आएका बीरगंज महानगरपालिका वडा नं.२३ का युवक र हेटौंडा–१० का एक महिला र पुरुषमा कोरोना देखिएको थियो ।हालसम्म मकवानपुरका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्थानिय तहको आधारमा हेर्ने हो भने हेटौंडा उपमहानगरपालिकामा सबै भन्दा बढी २० जना, मनहरीमा १२, थाहानगरपालिकामा ७, भिमफेदीमा दुई, बागमतीमा ३, बकैया, कैलाश,इन्द्रसरोबर, मकवानपुरगढी, राक्सिराङका एकरएक जनामा संक्रमण देखिएको चौलागाईले जानकारी दिए । मकवानपुरगढी गाउँपालिकामा पहिलो पटक देखिएको हो ।

हेटौंडामा रहेको आइसोलेसनमा हालसम्म आज पुष्टि भएका सहित ३७ जना संक्रमितले सेवा लिएका मध्ये २७ जना उपचारपछि डिस्चार्ज भएका छन ।