सुशान्त मृत्यु प्रकरणमा अभिनेत्री रियाका भाइ र पूर्वम्यानेजर पक्राउ

प्रहर खबर
२० भाद्र २०७७, शनिबार ०९:०७

एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा भारतको लागुऔषध नियन्त्रण ब्यूरो (एनसिबी)ले अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्तका म्यानेजर रहिसकेका स्यामुअल मिरान्डालाई पक्राउ गरेको छ।

सुशान्तको आत्महत्या प्रकरणमा छानबिन गरिरहेको सिबिआईले अनुसन्धानको क्रममा सुशान्तको मृत्यु ड्रग्ससँग सम्बन्धित रहेको देखिन आएपछि नार्कोटिक्स ब्युरो अहिले अनुसन्धानमा जुटेको छ ।

सुशान्तको मृत्यु प्रकरणमा यो पहिलो गिरफ्तारी हो । अनुसन्धानको क्रममा ड्रग्स लेनदेनको विषय अगाडी आएपछि अहिले अनुसन्धान ड्रग्सको विषयमा केन्द्रित भएको छ ।

ब्युरोको टिमले शुक्रबार नै शौबिक र साम्युलको घरमा छापा मारेको थियो भने गएराती दुवैलाई हिरासतमा समेत लिएको छ ।

गत १४ जुनमा सुशान्त मुम्बईस्थित आफ्नै घरमा मृत भेटिएका थिए। मुम्बई प्रहरीले सुरुमा यसलाई आत्महत्या बताएको थियो। तर पछि २५ जुलाईमा सुशान्तका पिताले पटनाको राजीवनगर थानामा रियाविरुद्ध उजुरी दिएका थिए।

त्यस्तै, अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभई हत्या भएको भन्ने आम जनता र परिवारको दाबि पछि अहिले यस विषयको अनुसन्धान सिबिआइले गरिरहेको छ । यस क्रममा सुशान्तसँग जोडिएका एक दर्जन भन्दा बढीको बयान समेत लिइएको छ । घटनालाई राजनीतिक रंग दिन थालिएपछि यस प्रकरणलाई सिबिआइको जिम्मा दिइएको हो ।

सिबिआइले समेत अहिले सुशान्तको मृत्युको प्रकरण बारे ठोस धारणा बनाउन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।