कहिले अन्त्य हुन्छ नातिजर्नेल र नवयुवराजहरुको दिन ?

नारायण प्रसाद भण्डारी
२१ भाद्र २०७७, आईतवार १३:२८

राणाका छोरा जन्मने बित्तिक्कै नातिजर्नेल, राजाका छोरा जन्मने बित्तिकै युवराज तथा अधिराजकुमार हुने परम्परा हिजोको जहाँनिया राणाकाल र राजाको निरंकुश एकतन्त्रीय राज्य सञ्चालनको एक परम्परा थियो कुनै समय । उनीहरुको व्यक्तिगत सुखसयल र विलाशिताका लागि राज्यको ढुकुटी रित्याउने जस्ता अनेक विकृतिले सीमा नाघेको अवस्थाबाट पार पाउन नेपाल आमाका हजारौं होनहार वीर वीरङ्गना छोराछोरीहरुले आफ्नो प्राणको आहुती दिए ।

जसबाट हाम्रो देशमा विश्वमा नै उत्कृष्ट ठानीएको भनी ब्याख्या गरिएको संघीय गणतान्त्रिक व्यवस्था भित्रियो । आशा थियो हिजोका नातिजर्नेल र युवराजहरुको अन्त्य हुनेछ र ती सेता हात्तीहरुको लालनपालन र ऐस आराममा खर्चिने गरिएको राष्ट्रको ढुकुटीबाट गाँस,बास,कपास,स्वास्थ्य, सुरक्षा तथा शिक्षाको अभावमा तड्पिएका आमनागरिकको जीवनमा चमत्कारिक परिवर्तन हुनेछ ।

यस्तो सपनामा रमाएका आमनागरिकको सपना तब शिशा झैं फुटे जब तीनै सपनाका वितरकको भूमिकाबाट सत्तामा पुगेका राजनैतिक दलका नेतृत्वगण सञ्चालन गरेको दलनीति अझ त्यसभित्रको गुटनीतिले राजनीतिको पवित्र अर्थलाई दुर्गन्धित मात्र होइन आफैंले निर्माण गरेको संविधान र नैतिकताका सामान्य शर्तको समेत ख्याल नगरी नयाँ नातिजर्नेल र युवराजहरु जन्माउने कार्यमा तल्लिन रह्यो ।

अतिशयोक्ति लाग्नसक्छ र लागेमा गोरखा र बर्दियाका ती ईमान्दार मतदातालाई सोध्ने हिम्मत गरौं “नारायणकाजीश्रेष्ठ तथा बामदेव गौतम यस संघीय गणतान्त्रिक युगका नातिजर्नेल र युवराज हुन कि होइनन् ?” भनेर ।यी त केवल प्रतिनिधि पात्र मात्र हुन् ।

एकातर्फ मेरा कतिपय मान्यजनलाई लाग्नसक्छ कि यो एउटा राजनैतिक कुरा हो र यसमा हामी सर्वसाधरणले चासो लिनुको केही अर्थ रहँदैन । यदी यसलाई कसैले “राजनीति” को संज्ञा दिनुहुन्छ भने उहाँले बुझ्नुभएको राजनीतिको परिभाषा नै गलत छ भन्ने बुझ्नु पनि जरुरी छ । अर्कातर्फ हिजो “सीमित व्यक्तिले राज्यको ढुकुटी दोहन गरी ऐसआराम गरे अधिकांश जनताले दुःख भोग्नु परेको छ” भन्ने आवाज लिएर हिंड्नेहरु भने त्यो अवस्थामा भएको परिवर्तनले केही खुसी हुनु नै पर्छ ।

किनकि हिजो एउटै राजपरिवार वा राणा परिवारले मात्र एकलौटी खान्थे भने आज अलि धेरै अर्थात ओली, दाहाल,खनाल, नेपाल, गौतम,देउवा, भट्टराई, यादव, भण्डारी, पौडेल, पाण्डे, बाँसकोटा, सापकोटा, पुन, खतिवडा, भुषाल, शाक्य, कोइराला, रिजाल, नेम्वाङ्, गुरुङ, केसी, पोखरेल, चौधरी, अग्रवाल,थापा, आदि नाम गरेका परिवारले बाँड्ने गरेका छन् ।

यसबाट हिजोका सीमित व्यक्तिबाट केही परिवारमा यो फैलिएको छ भने हिजोका केही प्रतिशत नाङ्गै, भोकै, गुन्द्री,ओडार वा जङ्गलमा दिनरात बिताउन वाध्य भएकाहरु आज महल,डिनर, लञ्च, रेष्टुँरा, तारे होटल,पजेरो र प्राडोमा स्थानान्तरण भएका छन् ।

जसमा अलि बढी राजनीतिज्ञ र केही पेशाकर्मी, केही नागरिक समाजका अगुवा, केही अधिकारकर्मी, केही उपभोक्तावादी, केही शिक्षक, केही कर्मचारी,केही पत्रकार, केही कारखाना मजदुर र केही किसान समेत पर्न आउँछन् । यीनै केहीले अधिकांशलाई छायाँमा पारेर आफ्नो स्वार्थ पुरा गरेकाछन् भन्दा लाज मान्नु पर्दैन ।

हुन त जुन देशमा मानवअधिकारकर्मी, नागरिकसमाजका अगुवा, किसान, व्यपारी, उद्योगपति,शिक्षक, कर्मचारी, मजदुर, पत्रकार, उपभोक्तावादी नै कुनै एउटा राजनैतिक पार्टीको कार्यकर्ता हुन्छ,त्यसले सम्बन्धित राजनैतिक दलको प्रत्येक कार्यलाई आँखा चिम्लेर समर्थन गर्नुभन्दा के नै पो गर्छ र ?

त्यसैले त आमनागरिक भोकै दिन गुजारी रहँदा नागरिकसमाजका अगुवाहरु तारे होटलमा डिनर बजाईरहेका हुन्छन् ।किसानका अगुवा भन्नेहरु आमकिसानहरु मल,बीउ, कीटनाशक औषधिको व्यवस्था गर्न नसकेर तड्परिहेको समयमा पनि सत्तासीन नेताहरुको नाममा स्थापना भएको कृषि तथा पशुपालन व्यवसायमा राज्यले लगानी गरेको अङ्क सुनेर जीब्रो निकाल्दछन्, वर्षौवर्षदेखि उद्योगले ऊखुको रकम भुक्तानी नगर्दा पनि चुँसम्म गर्दैनन् ।

शिक्षाका बुझक्कडहरु देशलाई नयाँ शिक्षा नियमावली दिन नसक्नेका विरुद्ध बोल्दैनन् बरु सार्वजनिक शिक्षालाई निजी क्षेत्रमा जिम्मा लगाउँदा ताली बजाउँछन्। शिक्षकका दर्तावाला बिचौलियाहरु आफूसँगै काम गर्ने बालविकासका शिक्षक तथा विद्यालय कर्मचारीप्रति राज्यले गरेको विभेदपूर्ण व्यवहारको सत्तामा रहेको दलका आधारमा विरोध वा समर्थन गर्छन् ।

अधिकारकर्मीहरु ज्यानमारा र देशद्राहीको पक्षमा वकालत गर्न पछि पर्दैनन् । श्रमको उपयुक्त सम्मानका बारेमा उठेका आवाजहरुलाई नै दबाउन तल्लिन रहन्छन् मजदुरकै नेताहरु । नारी अस्मिता माथि खेलवाड हुँदा विभाजित हुन्छन् महिलावादीहरु । सौदाबाजीमा कुरा नमिलेपछि बजारमा हल्ला पिटाउँछन् उपभोक्तावादीहरु । प्रतिशतको कुरा नमिलेपछि मात्र कलम चलाउँछन् पत्रकारहरु ।

कार्यशैली र उपलब्धिका आधारमा होइन कि केन्द्रमा कसले शासन सञ्चालन गरेको छ त्यसकै आधारमा मूल्याङ्कन गर्छन् स्थानीय तहका अधिकांश राजनीतिज्ञ एवम् बुज्रुकहरु । होइन भने एउटै प्रकृतिका कामका लागि किन चाहियो दर्जनौ संघ, संगठन, मञ्च, परिषद, आदि आदि ?

त्यसैले निष्कर्ष यो हो कि, जबसम्म हामी कसैको पक्ष वा विपक्षमा अन्धभक्त नरही स्वतन्त्र र सार्वभौम नागरिकको हैसियतले विषयगत मुद्दामा मत जाहेर गर्ने अवस्थाको सिर्जना गर्दैनौ तबसम्म नातिजर्नेल, युवराज, टीके तथा आमनागरिकले तिरष्कार गरेको व्यक्तिबाट शासीत हुने दिनको अन्त्य हुँदैन ।