मकवानपुरमा कोरानाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

प्रहर खबर
३० भाद्र २०७७, मंगलवार १३:०९

हेटौंडा – मकवानपुरमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मनहरी गाउँपालिका–८ सिमपानीका ६८ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

हिजो (सोमबार) बिहान दुध पु¥याएर फर्केका ती पुरुष आफ्नो घरमा एक्कासि बिहोस भएर ढलेका थिए । विहोस भएर ढलेको जानकारी पाउँना साथ गाउँपालिकाको स्वास्थकर्मी पुग्दा उनको मृत्यु भइसकेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख टिकाराम अधिकारीले जानकारी दिए । उनी दम तथा मुटु लगायत अन्य रोगबाट पीडित थिए ।

मृतक पुरुषको भतिजालाई तीनदिन अघि कोरोना पोजेटिभ देखिएको थियो । शंका लागेर स्वाब संकलन गरी हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा सोमबार बेलुका उनको रिर्पोट पोजिटिभ आएको मनहरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख अधिकारीले जानकारी गराए ।

उनको शव मंगलबार बिहान नेपाली सेनाले व्यवस्थापन गरेको छ । यससँगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।

यसअघि हेटौडा १ का ६१ वर्षका पुरुष, हेटौंडाका ७५ वर्षीय पुरुष, हेटौंडा उपमहानगरपालिका वडा नंं १५ का ५८ वर्षीय र हेटौँडा उपमहानगरपालिका वडा न.४ का ६१ वर्षीय प्रल्हादकुमार पोखरेलको पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।

त्यस्तै कोरोनाका कारण मृत्यु हुनेमा महिलाहरुमा हेटौंडा– १९ की ६२ बर्षीया, हेटौंडा उपमहानगरपालिका–३ की ६५ वर्षीया, हेटौंडा उपमहानगरपालिका वडा न. १९ की ७१ वर्षीया, हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया रहेका छन् ।

हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई चितवनमा पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । पहिलो उपचार प्रयासनै असफल भएको थियो ।

हालसम्म मकवानपुरमा कोरोना संक्रमणको कारण ५ जना महिला र ५ जना पुरुषको गरी १० जनाको मृत्यु भइसकेको छ । पाँच जनाको चितवनका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।