मकवानपुरका एक सहित कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३७१ पुग्यो

प्रहर खबर
३० भाद्र २०७७, मंगलवार १६:४०

हेटौंडा – नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना भाइरसको संक्रमण कारणले मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले दिएको जानकारी अनुसार महिला ४ जना महिला र ७ जना पुरुष गरी थप ११ जनाको मृत्यु भएको हो ।

काठमाडौकी ८६ वर्षीया, बाराकी ५५ वर्षीया, सिराहाकी ३५ वर्षीया र रुपन्देहीकी ६४ वर्षीया एक जना गरी चार जना महिलाको मृत्यु भएको छ । त्यसैगरी काठमाडौंका ३४,६६ र ९६ बर्षीय तीनजना, मकवानपुरका ६१ वर्षीय, बाराका ५५ बर्षीय, सर्लाहीका ६४ बर्षीय र कपिलबस्तुका ५८ वर्षीय एक जना गरी ७ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । नेपालमा कोरोनाका कारण हुने मृत्युदर ० दशमलव ६५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना संक्रमित थपिएका छन् । यससंगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा १ हजार ६२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४० हजार ६३४ पुगेको छ । नेपालमा १५ हजार ७७९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।