अन्तर्वार्ता

असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सम्बोधन गर्नुपर्छ: प्रथम राष्ट्रपति यादव

प्रहर खबर
२ आश्विन २०७७, शुक्रबार १५:३०

काठमाडौँ – जनताको दशकौं लामो चाहना र बलिदानीको उपलब्धि स्वरुप स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा सुनौलो इतिहास रच्न सफल डा. रामवरण यादवलाई संविधानसभाबाट तयार नेपालको समावेशी संविधान जारी गर्र्ने अभूतपूर्व अवसर जु¥यो । मधेशी समुदायको सामान्य मध्यम वर्गीय परिवारमा जन्मनु भएका उहाँ पेशाले चिकित्सक हुनुहन्छ । लोकतन्त्रप्रतिको अविचलित आस्थाका कारण उहाँ राजनीतिमा पनि त्यत्तिकै सक्रिय रहनुभयो । डा. यादव २०६२/६३ को जनआन्दोलनको बलमा २४० वर्ष लामो निरङ्कुश राजतन्त्र ढलेसँगै राष्ट्रपतिमा निर्वाचित हुनुभयो ।    

मुलुकमा एक राजनीतिक प्रणाली अन्त्य भएको र अर्काे स्थापित भई नसकेको अत्यन्त तरल राजनीतिक अवस्थामा भिन्न भिन्न राजनीतिक आन्दोलन र पृष्ठभूमिका दललाई काखापाखा नगरी अभिभावकत्व प्रदान गर्दै दुई पटक संविधानसभाको निर्वाचन गराएर सहजरुपमा राजनीतिक अवतरण गराउन उहाँले खेल्नुभएको भूमिकाको सर्वत्र प्रशंसा हुँदैआएको छ ।    

नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा गरेको अवसरमा पूर्वराष्ट्रपति यादव संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा लोकतन्त्रको मर्म र संविधानको भावना बुझेर काम गर्न विधायिका, सरकार र राजनीतिक दललाई सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ – “असन्तुष्टिका स्वरलाई विधायिकाले सहिष्णु भएर संविधान सम्मतरुपमा कानून बनाई सम्बोधन गर्ने प्रयत्न गर्नुपर्छ ।”    
संविधान दिवस र समसामयिक विषयमा केन्द्रित रहेर राष्ट्रिय समाचार समितिका समाचारदाता नारायण न्यौपाने र भीष्मराज ओझाले उहाँसँग गर्नुभएको कुराकानीको अंश यहाँ प्रस्तुत छ ः    

सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भइरहँदा यो दिनलाई यहाँले कसरी स्मरण गर्नुहुन्छ ?    
– संविधान जारी भएको दिन सम्पूर्ण नेपाली जनताका लागि ऐतिहासिक दिन हो । यस दिनमा सबैभन्दा पहिला म नेपाली जनतालाई सम्झन चाहन्छु । जनताको ठूलो सङ्घर्ष र बलिदानकै कारण संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी गर्न सफल भएको हो । यस दिन म खासगरी देश र समाजका लागि त्याग र बलिदान गर्ने शहीदहरु, नेपाली जनता तथा यस सङ्घर्षमा संलग्न राजनीतिक दल र तिनका नेताहरुलाई स्मरण गर्न चाहन्छु ।    

नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट संविधान जारी गर्ने त्यो ऐतिहासिक क्षणलाई स्मरण गर्दा यहाँले विशेष गरी कसलाई स्मरण गर्नुहुन्छ ?    
– यो संविधान नेपाली जनताको सङ्घर्षको उपज हो । संविधान करिब सात दशक लामो प्रजातान्त्रिक आन्दोलनपछि हासिल भएको उपलब्धि हो । नेपाली जनताका प्रतिनिधिले जनताका लागि पहिलो पटक लेखेको संविधान जारी गर्ने अवसर मैले पाएको थिएँ । विस २००७ देखि २०६२÷०६३ सालसम्म भएका प्रजातान्त्रिक आन्दोलन र राजनीतिक सङ्घर्षको फलस्वरुप हामीले यो संविधान पाएका हौं । तसर्थ म यो दिनमा सबै आन्दोलन र सङ्घर्षमा बलिदान र योगदान गर्ने सबैलाई विशेष स्मरण गर्न चाहन्छु । निश्चय नै २०६२÷६३ सालको आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइराला तथा तत्कालीन सात दल र पछि थपिएको अर्को एउटा दलका नेताहरुको सङ्घर्ष, योगदान र त्यागबाट नै यो उपलब्धि हासिल भएकाले यसमा सबैलाई सामूहिक रुपमा स्मरण गर्न चाहन्छु ।    

संविधान कार्यान्वयनको अवस्था अहिले कस्तो पाउनुभएको छ ? जनताले अपेक्षाअनुसार लाभ प्राप्त गर्न सकेका छन् त ?     
– यो संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हो । समानुपातिक समावेशीता, सङ्घीयता, धर्मनिरपेक्षतालगायत धेरै विषय समेटिएको यो संविधान लचिलो संविधान हो । कार्यान्वयनको चरणमा निश्चय नै यो संविधान आफ्नो ‘लिक’मा छ भन्ने मलाई लाग्छ । संविधान जारीपछि तीन तहका निर्वाचन सम्पन्न भई अहिले तीनै तहका सरकारमा निर्वाचित जनप्रतिनिधि छन् । सबैले आ–आफ्ना स्थानबाट काम गरिरहेका छन् । यो संविधानका प्रावधान कार्यान्वयन गर्दै जाने जिम्मेवारी राजनीतिक दल र जनप्रनिधिहरुको हो ।

लोकतन्त्रका अवयवहरु विधिविधानअनुसार चलेमा अवश्य पनि जनताको आकाँक्षा पूरा हुनेछन् । तर लोकतन्त्रको बाटो अभ्यास गर्दै जाँदा लामो समय लाग्दो रहेछ । जनप्रतिनिधिले इमान्दारीपूर्वक जनताको सेवक भएर आफूलाई समर्पण गरे लोकतान्त्रिक पद्धति अगाडि बढ्छ । मेरो आग्रह छ, संविधान र कानूनअनुसार शासन सञ्चालन होस् । यो विषयलाई जनप्रतिनिधिले मनन गरेन भने लोकतन्त्र मात्र लोकतन्त्रको नाममा सीमित रहन पुग्छ । त्यसैले हामी सबै आजको दिनमा आशा गरौ कि संविधान कार्यान्वयन हुँदै जाओस्, देश र समाज उन्नति पथमा लम्कोस्, लोकतन्त्र बलियो होस् । यही शुभकामना छ ।    

 नेपालको संविधानमा जनताको अपार समर्थन हुँदाहुँदै पनि कतिपय बुँदामा अझै असन्तुष्टि र विरोधाभासका स्वरहरु बेलाबखत सुनिने गरेका छन् । असन्तुष्टिका स्वरहरुलाई सम्बोधन कसरी गर्न मुनासिब होला ?    
– सङ्घीय विधायिका र कार्यपालिकाले सबै पक्षको असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सुन्नुपर्छ । विधायिकामा लगेर छलफल गरी सर्वस्वीकार्य समाधान खोज्न लोकतन्त्रले बाटो देखाउँछ नै । असन्तुष्टिका कुरालाई सम्बोधन गर्न संविधानले ठाउँ दिएको छ । त्यसलाई वार्ताद्वारा हल खोज्ने प्रयत्न हुनुपर्छ । सहिष्णु भएर सबै समस्यालाई सुन्ने, व्यवस्थापिकामा लगेर खुला रुपमा छलफल गर्ने र त्यसको समाधान खोज्ने हो । लोकतन्त्रको विधिमार्फत सबै विवाद मिल्दै जाने अपेक्षा गरेको छु ।    
 

संविधान जारी भएपछि जनअपेक्षित स्थायित्व, विकास र समृद्धि हासिल गर्ने दिशामा सरकार र दलहरुको भूमिका कस्तो पाउनुभएको छ ?    
– संविधान र कानून अनुसार देश अघि बढिरहेको छ । राजनीतिक दलहरु तथा जनप्रतिनिधिहरु सहिष्णु भएर लोकतान्त्रिक संस्थाहरुमार्फत नै जनताका समस्या र आवश्यकता समाधान गर्दै गए भने विकास र समृद्धि हासिल गर्न सकिन्छ । मैले त सिद्धान्तको कुरा भन्ने हो । अरु कुरा त तपाईहरु जस्ता सञ्चारमाध्यम, नागरिक समाज र बुद्धिजीवी वर्गले औँल्याइदिने हो ।    

संविधानअनुसार तीनै तहका सरकारको भूमिका र सेवा प्रवाहलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? तीन तहका सरकारबीचको आपसी सहयोग र सहकार्यमा तादाम्यता रहेको कतिको पाउनुभएको छ ? 
– राज्यको पुनःसंरचनापछि संविधानले तीन तहका सरकारको व्यवस्था गरेको छ । साथै, संविधानमा तीनै तहका सरकारबीच सहअस्तित्व र समन्वयकारी भूमिकासहित अधिकारहरु उल्लेख छन् । संविधानले एकल र साझा अधिकार प्रदान गर्नुका साथै आवश्यक कानून बनाएर अघि बढ्ने व्यवस्था गरेको छ जुन अभ्यासको क्रममा छ । सङ्घीयताको मर्म र भावनालाई आत्मसात गरेर संविधान अनुसार लोकतान्त्रिक बाटोबाट सबै तहका सरकार अघि बढेमा तादाम्यता कायम हुन्छ भन्ने लाग्छ । यसो भइदिए कसैले पनि चित्त दुखाउनु पर्दैन, विवाद पनि हुँदैन ।    
 

सङ्घीयता कार्यान्वयनमा तालमेल नपुगेको भन्ने प्रश्न बेलाबखत बाहिर आउने गरेको छ । प्रदेश सरकारले संविधानअनुसारको अधिकार प्रयोग पूर्णरुपमा गर्न नपाएको भन्ने गुनासो पनि छ । यसमा यहाँको केही टिप्पणी छ ?    
– जहाँ असन्तुष्टिका स्वर हुन्छन्, त्यहाँ विधायिकाले छलफल गरेर संविधान सम्मतरुपमा कानून बनाएर व्यवहारमा ल्याउने काम गर्नुपर्छ । सरकार र विधायिकालाई आवश्यक कानून बनाउने प्रशस्त ठाउँ संविधानले दिएको छ । लोकतन्त्रको मर्म र संविधानमा अन्तर्निहीत भावनालाई बुझेर अघि बढेको खण्डमा सबै समस्या समाधान हुँदै जाने छन् भन्ने मेरो विश्वास छ ।    
 

कतिपय घटनालाई अघि सारेर जनादेशको अवमूल्यन गर्ने काम भयो भन्ने चिन्ता व्यक्त भइआएको पाइन्छ । यस्ता क्रियाकलापले संविधानले आत्मसात गरेको सङ्घीय लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्न पक्कै बल पुग्दैन होला । यस विषयमा यहाँको दृष्टिकोण के छ ?    
– जनप्रतिनिधिले संविधानले निर्दिष्ट गरेको प्रणालीलाई अघि बढाउँदै जानुपर्छ । विकृतिहरु क्रमशः हट्दै जान्छन् । संविधानको भावनाअनुसार लोकतन्त्रलाई जनप्रतिनिधिले आत्मसात गर्दै लग्यो भने कहीँ कतै त्रुटि भएको छ भने पनि सुधार हुँदै जान्छ । जनमतकोे अवमूल्यन भयो भने पाँच वर्षपछि जनताले चुनावका माध्यमबाट जनप्रतिनिधिलाई सुधार्दै जान्छन् । लोकतन्त्रको गाडी अगाडि–अगाडि बढ्नुपर्छ । सर्वाेच्च स्थानमा रहेका जनता, चेतनशील नागरिक समाज र सञ्चारमाध्यमले ‘वाच डग’को रुपमा काम गरिरहनुपर्छ । मिडिया स्वतन्त्र होस्, कुनै प्रकारको अङ्कुश नहोस्, जनताको अधिकारमा कहीँ हस्तक्षेप नहोस्, कहीँ कतै कमीकमजोरी भइहाले सुधार गर्दै जाने काम होस् ।    
 

संविधानमा दलित, महिला, मधेशी, आदिवासी, जनजाति, अपाङता भएका व्यक्ति, सीमान्तकृत वर्ग र समुदायको अधिकार सुनिश्चित गरिएको भए पनि व्यवहारमा अझै कतिपय विषय लागू भइरहेका छैनन् भन्ने गुनासा सुनिन्छ, यसप्रति यहाँको के भनाइ छ ?    
– विभिन्न सञ्चारका माध्यमबाट यस्ता कुरा सुनिन्छन्, संविधानले त्यस्ता समुदायका हकहितका विषयलाई सम्बोधन गर्न विभिन्न आयोगको व्यवस्था गरेको छ । संवैधानिक निकायका रुपमा संविधानले निर्दिष्ट गरेका त्यस्ता आयोगलाई पूर्णता दिएर कार्यान्वयनमा लैजानुपर्छ । त्यहाँबाट तत् तत् समुदायका गुनासा सुन्ने र समस्या समाधान गर्ने पहलकदमी लिइनुपर्छ । उनीहरुको समस्या समाधान गर्ने दायित्व प्रथमतः सरकार र राजनीतिक दलकै हो । संविधानले प्रत्याभूत गरेका अधिकारलाई प्रयोग गरी अघि बढेमा समस्या समाधान हँुदै जानेछन् । सम्बोधन गर्न विलम्ब गरियो भने चाहीँ विकृति उत्पन्न हुन्छ । ठूलो बलिदानपछि पाएको संविधान प्रभावकारी रुपमा लागू हुदै जाओस् । संविधान सफल भएपछि राष्ट्र सफल हुन्छ र नेपाली जनताको भविष्य पनि उज्ज्वल हुन्छ । यो तथ्यलाई सबैले मनन गर्नुपर्छ ।    
 

यहाँको कार्यकालमा शुरु भएको राष्ट्रपति तराई–मधेस चुरे संरक्षण कार्यक्रमले लिएको लक्ष्य र कार्यान्वयनको वर्तमान अवस्थाप्रति यहाँ कतिको सन्तुष्ट हुनुहुन्छ ?    
– मुलुकमा समाजको जस्तै भूगोलको पनि विविधता छ । संसारमा चरमरुपमा प्रकृतिको दोहन भएको छ जसका कारण जलवायु परिवर्तनको असर विश्वभर देखिएको छ । जलवायु परिवर्तनको असरबाट उत्पन्न विषालु जीवाणुबाट कोभिड–१९ जस्ता महामारीको समस्या आएको छ र त्यसको सङ्क्रमणबाट ठूलो मानवीय क्षति व्यहोर्नुपर्ने स्थिति देखापर्दैछ । चुरे क्षेत्रमा वन, बोटबिरुवा, वनस्पति, जीवजन्तु, पशुपन्छी, खोलानाला, पानीका स्रोत प्रकृतिले दिएको छ । त्यो क्षेत्रको जल, जङ्गल र जडीबूटी जोगाउन यो कार्यक्रम ल्याइएको हो । चुरे जैविक विविधताको धनी क्षेत्र हो, त्यसले तराईलाई धनधान्य बनाएको थियो । पहिले चुरेमा ठूलो जङ्गल थियो, जसका कारण तराईमा कृषि, पशुपालन, बालीनाली र फलफूलको उब्जनी राम्रो ढङ्गबाट हुन्थ्यो, त्यो अवस्था अहिले रहेन । मरुभूमिमा परिणत हुने अवस्था देखिँदै छ, अहिले त्यहाँ ।    

अहिलेको चुरे संरक्षणको कार्यप्रति म सन्तुष्ट छैन । तराई–मधेश हाम्रो हिमालको कवच हो । चुरेको संरक्षण गर्न गुरुयोजना बने पनि कार्यान्वयनका लागि कानून बनाउने कुरा लथालिङ्ग अवस्थामै छ । जुन उद्देश्यले हामीले कार्यक्रम ल्याएका थियांै, त्यस अनुरुप काम भएको छैन । प्रकृतिलाई सन्तुलित गर्दै विकासका पूर्वाधार अघि बढाउनुपर्छ, त्यस लक्ष्य प्राप्तितर्फ हामी अघि बढ्नुपर्छ ।    
 

अन्त्यमा, संविधान दिवसका अवसरमा जनता, सरकार र राजनीतिक दललाई के सन्देश दिन चाहनुहुन्छ ?
– विधायिका, जनप्रतिनिधि, सरकार र राजनीतिक दलहरु मुलुकमा सुशासन र पारदर्शीता कायम गर्दै लोकतान्त्रिक विधिमार्फत अघि बढोस् भन्ने सम्पूर्ण नेपाली जनताको चाहना छ । म एक नागरिकको हैसियतले कहीँ कतै कसैप्रति विभेद नहोस् र सबै समस्याको विधिपूर्वक समाधान गर्न प्रेरणा प्राप्त होस् भन्ने कामना गर्न चाहन्छु । रासस