नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुग्यो

प्रहर संवाददाता
प्रहर संवाददाता
४ आश्विन २०७७, आईतवार १६:४१

हेटौंडा – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार छ महिला र चार पुरुष गरी थप १० जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४११ पुगेको छ।

काठमाडौंकी ४०,६०,६३ वर्षीया, ललितपुरकी ७५ बर्षीया, भक्तपुरकी ७२ वर्षीया, पाल्पाकी ७६ वर्षीया गरी ६ जना महिलाको कोरोना कारण मृत्यु भएका छन् ।

त्यस्तै काठमाडौंका ८२ वर्षीय, धनुषका ७६ बर्षीय, चितवनका ८० र रुपन्देहीका ६७ बर्षीय एक गरी चार जना पुरुषको मृत्यु भएको डा. गौतमले बताए । संक्रमितहरुबाट मुत्यु हुने दर ० दशमलब ६४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

२४ घण्टामा ९६६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसंगै डिस्चार्ज हुनेको सङ्ख्या ४६ हजार २३३ पुगेको छ ।

५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु रहेका छन् ।