कोरोनाबाट मकवानपुरका थप एक जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

प्रहर खबर
४ आश्विन २०७७, आईतवार २०:२४

हेटौंडा – कोरोना भाइरसको संक्रमणबाट मकवानपुरकी एक युवतीको मृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएकी मकवानपुर हेटौंडा–१० की १७ वर्षीया किशोरीको चितवन भरतपुरमा रहेको मेडिकल कलेजको शिक्षण अस्पतालमा आइतबार मृत्यु भएको कलेजका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिए ।

उनका अनुसार गत भदौ २२ गते ज्वरो र स्वाशप्रस्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा भदौ २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससंगै कोरोनाबाट पाँच पुरुष र ६ महिला गरी मकवानपुरका ११ जनाको मृत्यु भएको छ ।

यसअघि हेटौडा १ का ६१ वर्षका पुरुष, हेटौंडाका ७५ वर्षीय पुरुष, हेटौंडा उपमहानगरपालिका वडा नंं १५ का ५८ वर्षीय र हेटौँडा उपमहानगरपालिका वडा न.४ का ६१ वर्षीय प्रल्हाद कुमार पोखरेल, मनहरी गाउँपालिका–८ सिमपानीका ६८ वर्षीय लाल बहादुर मुक्तानको कोरोनाका कारण मृत्यु भएको थियो ।

त्यस्तै हेटौंडा– १९ की ६२ बर्षीया, हेटौंडा उपमहानगरपालिका–३ की ६५ वर्षीया, हेटौंडा उपमहानगरपालिका वडा न. १९ की ७१ वर्षीया, हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको मृत्यु भएको थियो ।

मकवानपुरका छ जनाको चितवनका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएका छन् । मेडिकल कलेजको शिक्षण अस्पतालमा हालसम्म १४ जना सङ्क्रमितको मृत्यु भईसकेको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । जसमध्ये १८ चितवनका हुन् ।