अफगानिस्तानका क्रिकेटर ताराकाईको निधन

प्रहर खबर
२० आश्विन २०७७, मंगलवार १२:३४

एजेन्सी – कारको ठक्करबाट गम्भीर घाइते भएका अफगानिस्तानका ब्याट्सम्यान नजीबुल्लाह ताराकाईको निधन भएको छ । २९ वर्षीय नजीवलाई गत शनिबार पूर्वी नानाघारमा सडक पार गर्ने क्रममा कारले ठक्कर दिएको थियो।

त्यसपछ उनलाई तत्कालै अस्पताल लगिएको थियो । नजीबको आइसियूमा राखेर उपचार भइरहेको थियो भने अवस्था चिन्ताजनक र अस्थीर रहेको अस्पतालले बताउँदै आएको थियो । उपचारकै क्रममा उनको निधन भएको अफगानिस्तान क्रिकेट बोर्डले मङ्गलबार विहान ट्‍वीटमार्फत् जानकारी गराएको हो ।

बोर्डले एक प्रतिभाशाली आक्रामक ओपनिङ ब्याट्सम्यान नजीबको २९ वर्षको अल्पायुमै भएको निधनले मर्माहत भएको र सिंगो क्रिकेट बोर्डलाई ठुलो क्षति पुगेको बताएको छ ।

ताराकाईले अफगानिस्तानका लागि १२ टी–२० अन्तर्राष्‍ट्रिय तथा एउटा एकदिवसीय खेलेका छन् । उनले सन् २०१४ को टी–२० विश्‍वकपका बेला टोलीका लागि डेब्यु गरेका थिए । उनी ओपनिङ ब्याट्सम्यानको रुपमा खेल्थे।

टी–२० मा उनको उच्च स्कोर ९० हो। उनले सन् २०१७ मा आयरल्यान्डविरुद्ध ९० रन प्रहार गरेका थिए। पहिलो श्रेणीको क्रिकेटमा उनको औषत ४७.२० थियो। पहिलो श्रेणीको २४ खेल खेलेका उनको उच्च स्कोर २०० रन थियो। त्यसक्रममा उनले ६ शतक हिर्काएका थिए।