२३ दिनको उपचारपछि डिस्चार्ज भए क्रिकेटर ललित भण्डारी

प्रहर खबर
२० आश्विन २०७७, मंगलवार २२:०५

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन । काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचाररत भण्डारी २३ दिनपछि आज (मंगलबार) डिस्चार्ज भएका हुन् ।

२३ दिनको उपचारपछि भण्डारीको स्वास्थ्यमा उल्लेखय सुधार आएपछि मंगलबार उनको डिस्चार्ज गरिएको हो । गत भदौ २८ गते कञ्चनपुरको शुक्लाफाटामा ट्रकले ठक्कर दिएर घाईते भएका थिए । भण्डारीको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो ।

धनगढीमा सामान्य उपचार पश्चात उनलाई नेपालगञ्जस्थित मेडिकल कलेजमा भर्ना गरिएको थियो । मेडिकल कलेजका चिकित्सकहरुको परामर्श अनुसार उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। काठमाडौंमा ल्याएपछि भण्डारीको हातको तीन भाग र खुट्टाको एक भागमा शल्यक्रिया भएको थियो ।

क्रिकेट खेलाडी संघले भण्डारीको उपचार खर्च जुटाउन अभियान नै सञ्चालन गरेको थियो ।अभियानका क्रममा १० लाख ८ हजार रुपैयाँ संकलन भएको थियो ।  संकलिन रकममध्ये कोहलपुरबाट काठमाडौं ल्याएको सिमरिक एयरलाई ३ लाख ८० हजार रुपैयाँ पनि तिरेको छ। बाँकी ६ लाख २८ हजार रुपैयाँ सिप्यानले परिवारलाई हस्तान्तरण गरेको छ।