बागमती प्रदेश सरकारले दियो रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड

प्रहर खबर
२१ आश्विन २०७७, बुधबार १७:३७

हेटौंडा – बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बीच आज मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले रंगशाला निर्माण तीव्र गतिमा भइरहेको भन्दै धुर्मुस सुन्तलीले गरेको कामको प्रशंसा गरे। सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने उनले बताए। रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने पौडलको भनाइ छ।

प्रदेश सरकारको १ भाद्र बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७/०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको थियो।कोभिड–१९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरीरहेकोले काम सुचारु गर्न सहज होस भनेर सहयोग गरेको हो ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले सहयोग रकम बुझ्दै खुशीको दिन भएको प्रतिक्रिया दिए । उनले रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरिरहेको पनि जानकारी दिए । अगामी १८ महिना भित्र सम्पन्न गर्ने गरि रङ्गशाला निर्माणको काम भइरहेको छ ।