हेटौंडा सुरु भयो फुटबल प्रतियोगिता

प्रहर खबर
२६ आश्विन २०७७, सोमबार १३:३९

हेटौंडा – कोरोना महामारीले गर्दा गरिएको लकडाउनको कारण नेपालमा बिगत ७ महिना देखि खेलकुद क्षेत्र प्रभाबित छ ।

तर, बागमती प्रदेशको राजधानी हेटौंडामा भने खेलकुदको माहोल आजदेखी जम्न शुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा आजदेखी नाइन ए साइड फुटबल प्रतियोगिता सुरु  भएसंगै खेलकुदको माहोल जम्न शुरु भएको हो ।

हेटौंडा चौधको पञ्चबुद्व टोल बिकास सस्थाको आयोजनामा गरिएको प्रतियोगिताको पहिलो दिन दुई ओटा खेल सम्पन्न गरिएको छ । उद्घाटन खेलमा चुरियामाइै टोल बिकास संस्था र समृद्धि टोल बिकास सस्थाले १–१ गोलको बराबरी खेलेको छ ।

त्यस्तै दोश्रो खेलमा आयोजक पञ्चबुद्व टोल बिकास सस्था ए ले बिजयी सुरुवात गरेको छ । पञ्चबुद्वले कालिदेवी टोल बिकास संस्थालाई ३–० गोलको सहज जित निकालेको हो ।

पञ्चबुद्व टोल बिकास सस्थाका अध्यक्ष श्याम कुमार भ्लोन को अध्यक्षता र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष दिपक खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।खेल लिग र नक आउटको आधारमा गरिएको  प्रतियोगितामा ६ वटा टोल बिकास सस्थाका ८ टिमको सहभागिता रहेको रहेको छ ।प्रतियोगिताको फाइनल खेल कार्तिक १ गते हुनेछ ।

प्रतियोगिताको बिजेताले पन्द्र किलोको खशी र उपबिजेताले दुइवटा लोकल भाले, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता घरमै बसेर हेर्न मिल्ने गरी आज भएको दुबै खेलको हेटौंडा अनलाइन स्पोर्ट्स टिभी र हेटौंडा अपडेट २४ मा प्रत्येक्ष प्रसारण गरेको थियो ।

मकवानपुरमा पछिल्लो समय गत फागुनमा तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको थियो । त्यसपछि तेस्रो हेटौंडा गोल्डकप कोरोनाका कारण आयोजना गर्न सकेको थिएन । राष्ट्रिय स्तरमा फुटबल प्रतियोगिता सुरु हुन नसकेपनि स्थानीयस्तरमा गरिएको प्रतियोगिताले खेलक्षेत्र केही हदमा सुचारु हुने आस पलाएको खेलाडीहरुले बताएका छन् ।