कुराको दु:ख

आरसी रिजाल
२९ आश्विन २०७७, बिहीबार १३:२१

केटाकेटी छँदा आमाले –“उ चुरौटे,चुरौटेनी आए “भन्नुहुन्थ्याे । टाउकोमा छैंटी बोकेका मधेसवासी दम्पत्ति देख्थेँ। आमा दिदी बहिनी चुरा लगाउँथे।कहिलेकाहीँ गाउँको कोहि आउँदा –उ कुरौटे, कुरौटेनी आए” भन्नु हुन्थ्यो। तर यिनिहरु खाली हात आएको देख्थेँ र म छक्क पर्थेँ। हाम्रो लवजले कुरौटे भन्ने गजवको पदवी दिएको छ।

देव युगमा यो पद नारद मुनिले पाएका थिए।तर उनलाई कुरौटे भन्दा पनि सूचना बाहक भन्नू उपयुक्त होला कि?ऊनी असुर र देवगण दुबै ठाउँमा धाउथे र एक अर्काको दाउपेच सुनाउथे ।सानोमा मान्यजनले मलाई–“तँलाई नारद!नारद्याई गर्छस् “भन्थे ।यसको ठेट अर्थ मैले पछि चाल पाएँ। एकथरी मान्छे यस्ता हुन्छन् -जसलाई अर्काको कुरा नकाटी खाएकै पच्दैन।त्यस्तालाई यसले पाचकको काम गर्छ।टोलको टुक बहादुरलाई प्राय: सबैले ट्वाक बहादुर भन्थे।

धोकेर राती ढिलो आएकोले स्वास्नीले ढोका खोल्दिन छे। दलानको गुन्द्रीमा पल्टेछ।भोलिपल्ट सबेरै करेसा जोडिएको बुढी फुपूले देखेर सोधपुछ गरिछिन्। स्वास्नी चाहिँले रिसले–“उसलाई यमराजले चाडैं बोलाएका छन् रे! मुखमा पानी हाल्दिने भए उ त्यो लोटामा छ “भन्दिछे।के चाहियो र?कुरौटेनी फुपूले टोलभरि ट्वाकेलाई बाहिर सारेको हल्ला फैल्याइन् ।

टोलबासी जम्मा हुँदै गए।वास्तविकता थाहा पाएपछि सबैले -“मर्न नसकेकि फतौरी “भन्दै आआफ्नाे घरतर्फ लागे रे ! भारतीय लेखक हरि शङ्कर प्रशाईको यस्तै आसयको लेख पढेथेँ–: उनको छिमेकी एक बुढी बिरामी थिइन् ।अरुसँग पानी मागेर पिउथिन् ।उठ्न पनि सक्तिन थिइन्।उनलाई कसैले –“हिजो राती छिमेकी डाक्टर साहेबको छोरी पोइला गएको” समाचार सुनाई दिएछ।अब के चाहियो र ! बिरामी काकी जरुक्क उठेर-लठ्ठी टेक्दै ऐयाऐया गर्दै दुईचार छिमेकीलाई यो सुसमाचारमा आफ्नो तर्फबाट फुलबुट्टा समेत थपेर सुनाएर आइन्।

त्यो दिनदेखि उनको स्थिति सुध्रिन लाग्यो रे! म निवर्तमान कर्मचारी हुँ।अर्काको कुरा काटेर हाकिमको अगाडि साखुल्य पारी फाइदा लुटनेहरु धेरै देखेको छु।त्यस्तालाई म विशेषण थपेर मसाजवाला कुरौटे भन्न उपयुक्त ठान्छु। कुरौटे रोगले साहित्यिक क्षेत्रलाई पनि गाँजेको छ।एकजना साहित्यकार साँझको तलतल मेट्ने अर्को साहित्यकारलाई भेट्न जान्थे ।

महिना दुई महिनामा म पनि उनको सिकार हुन्थेँ।”कहाँ राजा भोज,कहाँ गङ्गु तेली “भन्दै अर्को कविलाई खसाल्ने मलाई बेपत्ता उचाल्ने गर्थे।उनको मुखबाट अत्यन्त निम्नस्तरको उच्चस्तरीय गालीको धारा प्रभाव छुट्थ्यो।म चाहिँ कहिले हुन्छ बोतल खाली अनि रोकिन्छ स्तरीय गाली भन्ने प्रतीक्षामा हुन्थें।केहि साहित्यकार अर्कोको कुरा काट्ने छिद्रको खोजीमा हुन्छ।

केही नभेटे चाकरी र स्तुति गान गाउने “भाट साहित्यकार”को दर्जाले सुशोभित तुल्याउछन्। यस्ता कुन्ठाको पोकोलाई अर्को पक्षले सोही डोको बोकाउछन्।अर्को कुरा कुरौटेलाई प्रश्न सोध्न पर्दैन।तपाईंलाई असल श्रोता ठानी एकोहोरो तपाईंको कानमा बलात्कार गरि रहन्छ। कुरा काट्नेलाई पधेर्नी गफ पनि भन्छ्न्।हाम्रो पालामा घरघरमा पानीको ब्यबस्था हुँदैनथ्यो।

पधेरामा (कुवा ,इनार, ढुङ्गे धारा आदि) पानी लिन जाने पधेर्नीका जत्थाहरू –“ए थाहा पायौ?फलाना चिलानी कहाँ यस्तो यस्तो भएछ नि”भन्थे।अर्किले कहाँ त्यतिमात्र हुनु भन्दै कुरा स्वादिलो पार्न मसला थप्थे रे। कसैकाे गोलीगाँठोमा देखिएको दादलाई अझ बढाई चढाई गर्दै कुरौटेनीहरुले पाण्डुरोगको हल्ला फिँझाएको घटना पनि सुनिन्थे। एफएमले समाचार सुनाएझैँ टोलभरको चौबीस घन्टे घटनाको जानकारी पधेरामा प्राप्त हुन्थ्यो।

राजनीतिक क्षेत्रमा कुरा काटने प्रथा साह्रै मौलाएको छ।हिजोआज “भाषण सुन्न जाऔ” को बदला “कुरा काट्या सुन्न जाउ “भन्ने गरिन्छ।हुन पनि एउटा पार्टीले अर्को पार्टीकाे कुरा काट्ने बाहेक सिर्जनात्मक कुरो तातो भुत्लो केही हुँदैन।।आफैँले काटेको कुराले आफैँलाई हानेको समेत चाल पाउदैनन् । ” खाली दिमाग सैतानको घर” भनेझैं बेकामेहरु नै हुन अनावश्यक कुरा सोच्ने र अरुलाई घोच्ने।यस्तालाई कुरा काट्ने सामग्रीको सधैं अभाव महसुस हुन्छ। कुराैटेहरूका कुरा जति काेट्याए पनि, जति भट्याए पनि कहिल्यै सकिदैन । उहि–“कुरा गर्यो कुरैको दु:ख “.भनेझैँ।