झिनामसिना विवादमा नपरौँः मन्त्री फुयाँल

प्रहर खबर
१ कार्तिक २०७७, शनिबार २१:२३

वाग्मती – वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री फुयाँलले विकासनिर्माणको कामलाई स्वागत गर्ने संस्कृतिको विकास गरिनुपर्ने बताउनुभएको छ ।

हेटौंँडा –काठमाडौँ छोटो मार्गअन्तर्गत निर्माणाधीन कुलेखानी–दक्षिणकाली सडकखण्डको स्तरीकरणका क्रममा केही स्थानीयवासीले अवरोध गरेको ठेकेदारको गुनासोपछि आज सडक क्षेत्र पर्ने इन्द्रसरोवर गाउँपालिकाका प्रमुख जीवन लामालगायत जनप्रतिनिधिसँग छलफल गर्दै मन्त्री फुयाँलले विकासनिर्माणमा देखिएका विवादको स्थानीय तहले समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले ठूल्ठूला योजना झिनामसिना विवादका कारण चौपट भएकाले सरकारलाई हतोत्साही गर्ने काम नगर्न अनुरोध गर्नुभयो । मन्त्री फुयालले कसैको बास नै उठ्ने वा गाँस नै खोसिने अवस्थामा बाहेक सरकारले मुआब्जा दिएर विकासनिर्माण गर्न नसक्ने स्पष्ट पार्नुभयो । एकदुई हात जग्गा सडकका लागि छाड्दा आफू तथा आफ्ना टोल, गाउँ र देशलाई नै फाइदा पुग्नेतर्फ सबै नागरिक सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री फुयाँलले आजै निर्माणाधीन भीमफेदी –कुलेखानी सडकखण्ड, चित्लाङ– थानकोट सडकखण्डलगायत निर्माणाधीन पूर्वाधारको पनि अनुगमन तथा अवलोकन गर्नुभएको थियो ।