विचार

“नेपाली जनता योग्य अभिभावकको खोजीमा छन् ”

''जीवन्त बिम्ब '' जयराम बिडारी
९ कार्तिक २०७७, आईतवार १४:४३

कुनै समयमा नेपालमा एउटा नारा लाग्ने गर्दथ्यो नेपाल भारत बीचको सन् १९५० को सन्धि खारेज होस् । जुन पार्टीको अगुवाइमा यो नारा नेपालमा लाग्ने गर्दथ्यो आज त्यहि पार्टीका नेता यो देशको कार्यकारी सहितको प्रधानमंत्री हुनुहुन्छ । संधिका प्रावधानमा दुइ देशका बीच फाइदा र बेफाइदाका कुराहरुको छुट्टै बहश गरिएलान् तर त्यो सन्धि यसकारण खारेज गरिनुपर्छ भनिन्थ्यो कि त्यो सन्धि असमान सन्धि थियो ।

वि.सं २००७ श्रावन १६ सोमबार ३१ जुलाई, १९५० मा नेपालका प्रधानमन्त्री मोहन शम्शेर जंग बहादुर राणा तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंह द्वारा हस्ताक्षर गरिएको यो सन्धिमा यताको(नेपाल सरकारको) तर्फबाट प्रधानमंत्री र भारतीय सरकारका तर्फबाट एक सचिव स्तरीय कर्मचारिले हस्ताक्षर गरिएको दस्तावेज कसरी समान सन्धि हुन सक्छ ? दुइ सार्वभौमिक राष्ट्रका बीचमा हुने सन्धि सम्झौताहरुमा समान स्तरका प्रतिनिधि हरुको हस्ताक्षर हुनुपर्छ ।

प्रोटोकलका आधारमा जायज़ मानिने यस्ता बिचारहरु लाइ अनुचित मान्न मिल्दैन भनेर तर्कसंगत कुरा गर्नेहरुको जमात पनि बाक्लै छ ।प्रोटोकलको असमानता एवं अनावश्यक हस्तक्षेपको आधारमा बिचार गर्दा हरेक राष्ट्रको आ-आफ्ना स्वार्थ हुने गर्दछन् जसलाइ अस्वभाविक मान्न मिल्दैन नेपालको आफ्नो स्वार्थ होला भारतको आफ्नै खालको स्वार्थ हुन्छ तर ती स्वार्थका बीचमा डाइलग गर्ने एउटा निश्चित बिधि र प्रक्रिया हुन्छन् एकले ती प्रकृयामा पालन गर्नुपर्ने बिधिहरु पुरा गरिएन भने त्यसलाइ हस्तक्षेप भनिन्छ र त्यसको पनि शालिन ढंगमा वा आवश्यकताको सिद्धांत अनुसार कडा रुपमा प्रतिबाद गरिनुपर्दछ ।

भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त कुमार गोयल र हाम्रा प्रधानमंत्री केपी ओली बीचमा गरिएको भेट यस्तै कुटनीति बिधि र प्रकृयाको बेमेलको रुपमा सर्बत्र बिबाद र आलोचनाको बिषय बनिरहेको छ ।नेपाल र भरतका बीचमा नेपालले जारी गरिएको चुच्चे नक्शा प्रकाशन पछि असमझदारी हरु देखिएको छन् ,दुइ देशका बीच बिवाद मात्र नभएर सम्बादहिनताको अवस्था पनि छ यदि त्यहि संबादहिनतालाइ चिर्न खोजिएको हो र नया अध्याय सुरु गर्न खोजिएको हो भने पनि त्यसमा पनि कुटनितिका बिभिन्न चरणहरु छन् ।

उताका (भारतका) खुफिया एजेन्सीका प्रमुखले नेपालका राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख (दुवै समकक्षी पनि हुन् ) संग डाइलग गरिएको भए कसैले यो बिषयमा बिवाद गर्दैनथ्यो , त्यसैगरि उताको सचिवस्तरीयले यताको पनि सचिव स्तर र परराष्ट्र मंत्रालय मार्फ़त परराष्ट्र मंत्रालय अनि दुवै देशका प्रधानमंत्री लेवलमा बार्ता र बिमर्श गरिएको थियो भने पनि परिणामका उपलब्धिका आधारमा केही बहश हुन सक्थ्यो तर त्यो स्वभाविक बहश हुन्थ्यो यहाँ राष्ट्रबादको दुहाइदिने राष्ट्रवादी भन्ने राष्ट्रप्रमुखले अर्को देशको सचिवस्तरीय कर्मचारीसंग किन र के का लागि अपबित्र भेटधाट गरेका हुन् । अनि सारा नेपाली जनतालाइ के सन्देश दिन खोजेका हुन् ? यताको प्रम र उताको सामान्य कर्मचारी समान स्तरका हुन् भनेर ? जसरी जनसंख्या र भूगोलका आधारमा बेमेल भएपनि दुइ सारभौम मुलुक समान हुन्छन् तीनका हैसियत समान हुन्छ तर कुटनिती चाहिं कसरी फरक हुन्छ ?

सारा बिश्व कोरोनाले आक्रान्त बनिरहेको बेला , हाम्रो देशको ४०%घाटा बजेटमा आधारित अर्थव्यवस्था एवं रेमिटेन्समा निर्भर अर्थतंत्र खस्किनु नौलो कुरा होइन । सारा बिश्व बिकराल स्थितितिको सामना गरेर अघि बढिरहेको बेला, गरिब जनताहरु रोग र भोकको शिकार भैरहेको बेला यो देशको राष्ट्रप्रमुख भएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेआम भारतीय रअका गुप्तचरलाई भेटेर “शिस्टाचार भेटघाट” को नाम दिन्छन् भने अब भन्नुस् ती प्रधानमन्त्री रास्ट्रघाती हुन् कि हैनन् ? कुनैपनि देशका प्रधानमन्त्रीले बिदेशी गुप्तचरलाई कि त संकटकालमा भेट्ने गर्छन् कि त लडाईँको समयमा मात्रै ,तीन करोड जनतालाई मुर्ख बनाएर यसरी दिनदहाडै भारतीय रअसँग प्रधानमन्त्रीले के कारणले भेटे, ? यस्को तुरन्त छानबिन हुनु र नेपाली जनतालाइ जानकारी गराउनु आवस्यक छ । छानबिन गरिएन भने नेपाली जनताले त्यसको कडा प्रतिरोध मात्र गर्ने छैनन् राजनैतिक नेता लाइ उचित दंड पनि दिनेछन् ।

रअ का प्रमुख सङ नेपालका बिभिन्न समयका प्रधानमंत्री हरुले समय -समयमा गोप्य भेटघाट गर्नु भनेको देश प्रति गद्धारी गर्नु हो । हुन सक्छ दुइ देशका बीचमा कतिपय महत्वपूर्ण बिषयमा तत्काल समाधान गरिनुपर्ने बिषयबस्तु पनि होलान् तर त्यसका लागि कुटनितिक च्यानलहरुको उचित प्रयोग गरिनु पर्दथ्यो । नेपालले चुच्चे नक्शा जारी गरेपछि द्विपक्षिय बार्ताको वातावरण मिलाउनका लागि भारतका लागि नेपाली राजदुतले प्रधानमंत्री मोदीसंग भेटघाटका निमित्त ३ पटक प्रयास गर्दा पनि समय उपलब्ध नगराएको भन्ने खालका समाचारहरु आएका थिए तर तीनै मोदीका कारिन्दा संग नेपालका प्रधानमंत्री ले किन र के का लागि कुटनितिको सिमा नाघेर भेट गरेका हुन् ? मर्यादा क्रमानुसार रअ प्रमुखको हैसियत नेपालका सचीव स्यतरिय हो । उनको स्तरका कुटनिती प्रयोग गरिएको भए यत्तिको बिवाद हरु पक्कैपनि आउने थिएन ।

त्यसैले एउटा कुरामा के बिश्वस्त हुन् सकिन्छ भने हामीले २००७ सालदेखि हालसम्म प्राप्त गरेका भनिएका उपलब्धिहरु हाम्रा बिकारु नेताहरुले आफूलाइ लीलामीमा राखेर बिदेशीका पाउमा लम्पसार परेर हलि गोठालाका रुपमा उनिहरुकै भरिया बनेर आएका हुन् यीनको कुनै हैसियत छैन मालिकको अर्दली वा पाले पिउन जो आए पनि आफ्नो स्थानबाट उठेर साष्टांग प्रणाम गर्ने रहेछन् भन्ने कुरा निम्म तर्क र तथ्यका आधारमा भन्न सकिन्छ ।

(१) हज्जारौं सेनाले घेरीएका राजा बिरेन्द्रको बंश नाश भयो तर माओवादीका ठूला भनिएका नेताहरु पुरै द्वन्दकालमा सुरक्षित रहे यसबाट पनि यिनिहरुलाइ संरक्षित गरिएको थियो भन्न सकिन्छ ।

(२) रअ प्रमुखले राष्ट्र प्रमुखलाइ भेंट भनेर बिरोध गर्नुको अर्थ छैन उनिहरुको आफ्नो स्वार्थ,उद्देश्य पुरा गर्नका लागि भेटिहाल्छन् नि तर भेट दिने नदिने त हाम्रो बिवेकले छुट्याउनु पर्ने हो नि ।

(३) भारतीय खुफिया एजेन्सि रअ जस्ले अरुको मुलुकको सुरक्षा सूचना भारत को स्वार्थ अनुसार प्राप्त गर्छ आवश्यक परे गैह्रकानूनी रुपमा कसैको हत्या समेत गर्छ ,अरुको मुलुक को सुरक्षा सुचना पता लगाई आक्रमणका योजना बनाएर भारतीय सुरक्षा चासोमा बल पुर्याउछ । त्यस्तो एजेन्सीका एउटा सचिवस्तरीय कर्मचारी लाइ मेरो देशका प्रधानमंत्री जस्तो मानिसले भेट्नु भनेको मर्यादाक्रम अनुसार अनुचित कार्यको पराकाष्ठा हो । रअ आफैमा भारत को कुनै कानुनी आधिकारिक निकाए होईन यो त प्रत्येक्ष भारतीय सुरक्षा एजेन्सी र प्रधानमन्त्री बाट संचालन हुन्छ ।यो कुनै भरतीय दात्री निकाय पनि होइन केवल खुफिया एजेन्सी हो ।

(४) भारतीय रअ का पुर्ब प्रमुख अमर भुषणले प्रचण्ड लाई आफैले संचालन गरेको भनेर आफनो जिबनीमा लेखेका छन । हामीले नेता मानेका प्रचण्ड बाट कहिं कतै त्यसको आधिकारिक खण्डन भएको छैन यसको मतलव मौनं स्विकृति लक्षणम हो । हाम्रो देशका सोझासिधा मानिस हरुलाइ राज्य संयन्त्रका बिरुद्धमा भड्काएर १७ हजार निर्दोष मानिसहरुको हत्या गराएर पुरै राष्ट्र तहश नहश बनाउनु यहांको राजसंस्थाको अनधिकृत रुपमा बिस्थापित गरिनु हाम्रा स्वार्थ र चासो थिएन यो सबै ग्राइण्ड डिज़ाइन थियो भन्न सकिन्छ

(५) माओवादि शसस्त्र युद्धकाल भरी प्रचण्ड बाबुराम भारतमा बस्नु र भारतीयहरुले बेला बेलामा हामीले पालेका भन्नु तर यीनिहरुले प्रतिबाद नगर्नु भारतिय प्रहरी र सेना ले प्रचण्ड को सुरक्षा दिनु तर नेपालमा सिधासोझा कार्यकर्तालाइ बलि को बोको बनाउनु ।

(६) नेपालमा राजतन्त्रको अन्त्य भएपछी भारतीय रअ का मान्छेहरु मिडियामा देखिने गरेर नेपाल आउनु यो दादागिरी हो किनकी नेपालमा तिनैका एजेन्ट ले सरकार चलाएका छ्न यस अर्थमा नेपालले जारी गरेको चुच्चे नक्शामा समेटिएका नेपालको भूमी लिपुलेक, कालापानी,लिम्पियाधुरा एवं समग्र बिवादित सिमा सम्बन्धि बार्ता गर्नका लागि नेपालको पटक पटकको कुटनितिक आग्रह लाइ कोरोनाको बहाना बनाएर टार्दै आएको भारत सरकारले कुन स्वार्थका लागि नेपाल माथि दवाव दिइरहेको हो वा नेपालका प्रधानमंत्रीले के खिचडी पकाउंडैछन् त्यसको जानकारी नेपाली जनताले खोजिरहेका छन् ।

(७) जनयुद्धमा प्रयोग गरिएको हतियार विशेष गरि इन्सास भारतमा निर्मित हतियार हो । यो कसरी नेपाल भित्रियो यसको उत्तर नेपाली जनताले किन नपाउने ? जस्को प्रयोग नेपाली माओबादीले प्रयोग गरेर यहाँ रगतको होली खेलियो । भारतीय प्रहरीको अनुमति बिना कुनै पनि सामान नाकाबाट छिर्न सक्दैन भने ट्रकका ट्रक हतियार कसरी रोल्पा पुर्याइयो ? यसको जानकारी कस्ले गराउने ?

पूर्व राजा ज्ञानेनन्द्रले दशैको अवशर पारेर दिनुभएको शुभकामना संदेशमा “सरकारको रवैयाका कारण नेपाली जनता अभिभावकविहीन बन्न पुगेको निष्कर्ष निकालेका छन् ” बास्तवमा अहिले नेपाली जनता योग्य अभिभावकको खोजीमा छन् । नेताहरुबाट त्यो खालको अभिभावकीय दायित्व पुरा हुने लक्षण नदेखिनुनै जनतामा बढेको निराशाको कारण हो । अभिभावक बिहिन देशले कहिल्यै प्रगति गर्न सक्दैन । कुनैबेला माओवादी हरु तत्कालीन सरकारलाइ बिश्वास नगरेर राजा ज्ञानेन्द्रलाइ देखाउंदै सिधै मालिकसंग बार्ता गरिनेछ भन्दथे उनिहरुको नजरमा तत्कालीन सरकारको कसैका कारिन्दा मात्र हुन् र तिनिहुल् समाधान दिन सक्दैनन् भन्ने थियो बर्तमान केपी ओली सरकार लगायत ०६२/०६३ पछिका सरकारको रबैया देख्दा यीनिहरु पूर्ण रुपमा कसैका कारिन्दाका रुपमा रहेको कुरा हाम्रा प्रम ओली र भारतीय रअ प्रमुखको भेटबार्ताले प्रमाणित भएन र ?

-जयराम बिडारीथानकोट काठमाण्डौ