बागमती प्रदेश प्रहरी कार्यालयद्वारा गुनासो तथा सुझाव संकलन

प्रहर संवाददाता
प्रहर संवाददाता
१४ कार्तिक २०७७, शुक्रबार १७:३८

हेटौंडा – बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले गुनासो तथा सुझाव संकलन गरेको छ । प्रदेशका ३१ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि राखीएको गुनासो तथा सुझाव संकलन पेटीमा प्राप्‍त भएका गुनासो तथा सुझाव संकलन गरीएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले तयार गरेको “गुनासो तथा सुझाव पेटीका संचालन सम्बन्धी योजना २०७७” मा उल्लेखीत व्यवस्था अनुसार आम नागरिकबाट प्राप्‍त भएका सल्लाह, सुझावका साथै गुनासोलाई संकलन गरीएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गुनासो तथा सुझाव संकलन पेटीमा हालसम्म ६ वटा गुनासो तथा उजुरी प्राप्त भएको छ ।

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालीकाको कार्यालयमा राखीएको पेटीकाबाट १ र धादिङ जिल्लाको निलकण्ठ नगरपालिकाको कार्यालयमा राखीएको पेटीकाबाट ५ वटा रहेको कार्यालयले जनाएको छ । अन्य स्थानीय तहको कार्यालयमा राखीएको पेटीकामा भने कुनै सुझाव तथा गुनासो राखेको पाईएको थिएन । स्थानीय तहका प्रतिनिधीका साथै स्थानीय प्रहरीको रोहवरमा उक्त पेटीका खोली प्राप्‍त भएका गुनासोहरु प्रदेश प्रहरी कार्यालय हेटौंडामा ल्याईएको छ । प्रदेश प्रहरी कार्यालयमा रहेको गुनासो उजुरी छानविन शाखाले प्राप्‍त गुनासोहरुको सम्बन्धमा उचित गुनासो तथा सुझावलाई कार्यान्वयन पश्चात सो को जानकारी सम्बन्धीत व्यक्तिलाई गराईनुका साथै प्रदेश प्रहरीको आधिकारीक वेव साईट मार्फत समेत सार्वजनीक गर्ने छ ।

No description available.

बागमती प्रदेश प्रहरी कार्यालयले प्रथम चरणमा सबै महानगरपालीका, उपमहानगरपालीका, नगरपालीका र सदरमुकाम रहेको गाउँपालीका गरी ३१ वटा स्थानीय तहमा राखेको थियो । दोस्रो चरणमा ६७ वटा गाउँपालीका र तेस्रो चरणमा प्रदेश भरीका ८७४ वटा वडा कार्यालयहरुमा समेत गुनासो तथा सुझाव संकलन पेटीका राखिने छ ।

प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्‍त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्‍त सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले असोज १ गते स्थानीय तहसंगको सहकार्यमा गुनासो तथा सुझाव संकलन पेटीका राखेको थियो ।

नागरिक सेवामा समर्पित नेपाल प्रहरीले संगठनको काम कारवाहीलाई ब्यवस्थित तथा जवाफदेही बनाउन नागरीकसंगको सहकार्यलाई अपरिहार्य रहेको मनन गरी कार्यक्षेत्रमा रहेको हरेक प्रहरी कार्यालयहरुमा गुनासो पेटिका राख्ने कार्य धेरै अघि देखि प्रारम्भ गरेको भएता पनि प्रहरीको बिरुद्ध प्रहरी कार्यालयमै गएर गुनासो ब्यक्त गर्नु सहज महसुस नगरेको कारण अपेक्षित गुनासोहरु संकलन हुन नसकेको बिधमान अवस्थालाई मध्येनजर गरी बागमती प्रदेश प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रमका प्रमुख सहयोगी स्थानिय निकायसंग सहकार्य गर्दै स्थानिय निकायको परिसरमानै प्रहरीसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन पेटिका राख्ने कार्यको शुरुवात गरेको थियो । नेपाल प्रहरीमै पहिलो पटक बागमती प्रदेश प्रहरी कार्यालयले यो अभियान संचालन गरेको हो ।

उजुरी पेटीकामा नागरिकहरुले प्रहरी कार्यालय र प्रहरी कर्मचारीको कामकारबाहीका सम्बन्धमा आफ्नो गुनासो, सुझावका साथै अन्य क्षेत्रमा आवश्यक पहलका लागि प्रहरी संग राखिएको अपेक्षाहरु समेत राख्न सक्ने छन । अन्य क्षेत्रसंग सम्बन्धीत रहेका गुनासो तथा सुझावहरुलाई आवश्यक सम्बोधनका लागि सम्बन्धीत निकायमा पठाईने छ ।