कविता

वीरबहादुर लामाः एक विश्वविद्यालय

आर.आर. चौलागाईं
२६ कार्तिक २०७७, बुधबार १४:२७

एउटा थियो निडर मान्छे
जो ढुङ्गा चपाएर निल्थ्यो
जो फलाम पगालेर पिउँथ्यो
आज गुमनाम अस्तायो
अब कहिल्यै नफर्किने गरी हामीबाट हरायो ।

ऊसँग कागजी चिर्कटो थिएन
तर ऊ आफैँमा एउटा विश्वविद्यालय थियो
ऊसँग अग्लो कुर्सी थिएन
तर ऊ सबैले चढ्ने सगरमाथा थियो
कहिलेकाहीँ घामलाई समात्छु भन्थ्यो ऊ
कहिलेकाहीँ पहाडलाई धकेल्छु भन्थ्यो
भारी बोक्नेहरूको झोलुङ्गेपुल थियो ऊ
अनि हलो जोत्नेहरूको दौँतरी थियो
एउटा थियो लाटो मान्छे
ऊ आफूलाई लाटो भन्थ्यो
जो बाठाहरूको अगुवा भयो
ऊ खडेरीमा पनि फूल भएर फक्र्यो
ऊ बगरमा पनि पानी भएर बग्यो
तर आज अनायास निदायो
अब कहिल्यै नफर्किने गरी हामीबाट हरायो ।

जिन्दगीमा उसले के गरेन रु
धेरै थोक गर्यो, धेरै थोक गुमायो
सुरुङ खन्यो, जेल फोर्यो
घर छोड्यो, भूमिगत भयो
कम्युन के हो सिकायो
समानता के हो बुझायो
जहिले पनि साँचो बोल्यो
जालीहरूको पोल खोल्यो
राक्षसहरूको सातो खायो
श्रमजीवीहरूको प्यारो भयो
एउटा थियो जूनजस्तो मान्छे
जो हामीलाई बाटो देखाउँथ्यो
आज हामीलाई रुवाएर गयो
अब कहिल्यै नफर्किने गरी हामीबाट हरायो ।