नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरी

प्रहर संवाददाता
प्रहर संवाददाता
२ मंसिर २०७७, मंगलवार १९:११

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बरारबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको दोस्रो खेलमा गोलरहित बराबरी खेलेको हो ।

दोस्रो खेलमा नेपालले बरारबरी खेलेपनि मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको ट्रफी भने बंगलादेशले जितेको छ । सिरिजको पहिलो खेलमा शुक्रबार नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले निकै आक्रामक खेल खेले पनि नेपालले बांग्लादेशविरुद्ध गोल गर्न सकेन्। नेपालका तर्फबाट खेलको इन्जुरी समयमा रजिन धिमालको क्रसमा नवयुग श्रेष्ठले गरेको हेड प्रहार पोस्टमा लागेर फर्किएको थियो।  बांग्लादेशविरुद्ध आज नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरेका छन्।  रक्षात्मक खेलेको बांग्लादेशले पनि नेपालविरुद्ध उत्कृष्ट आक्रमण गर्न सकेन।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बांग्लादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको हो। फिफा विश्वकप २०२२ र एएफसी एसियाली कप फुटबलको छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनविरुद्ध खेल्न बाँकी छ ।

यी तीन खेलपछि नेपालको विश्वकप छनोट यात्रा टुङ्गिनेछ । समूह बी मा नेपालको पाँच खेलबाट मात्र तीन अङ्क छ । नेपाल पुछारबाट दोस्रो स्थानमा छ । अस्ट्रेलिया चार खेलमा १२ अङ्क बनाएर शीर्ष स्थानमा छ । कुवेत दोस्रो र जोर्डन तेस्रो स्थानमा रहेका छन् ।