मकवानपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २९ पुग्यो

प्रहर खबर
५ मंसिर २०७७, शुक्रबार १०:५२

हेटौंडा – मकवानपुरमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं. ५ की ६४ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो ।

पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि होम आइसोलेसनमा रहेकी महिलाको मृत्यु भएको वडाध्यक्ष राजेश बानियाँले जानकारी दिए । ती महिलालाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै हेटौंडा उपमहानगरमा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । त्यस्तै थाहा नगरपालिका, मनहरी र बकैया गाउँपालिकामा २/२ जना तथा बागमती गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । हालसम्म मकवानपुरमा २९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।