च्याम्पियन बन्दै गोपीचन्द्र टोकियो ओलम्पिकमा छनोट

प्रहर संवाददाता
प्रहर संवाददाता
६ मंसिर २०७७, शनिबार १७:२२

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) का ५ हजार मिटर दौडका स्वर्ण विजेता एपीएफ क्लबका गोपीचन्द्र पार्की छैटौं नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् । ४२.१९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गर्दै गोपीचन्द्रले उपाधि जितेका हुन् । उपाधिसँगै गोपीले नगद ७५ हजार प्राप्त गरे ।

शनिबार नेपालगञ्जमा सम्पन्न म्याराथनको उपाधि जित्दै गोपीचन्द्र अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकमा छनोट भएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालगञ्ज म्याराथनको विजेतालाई ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो ।

विभागीय क्लब त्रिभुवन आर्मीका कृष्ण बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गर्दै दोस्रो भएका छन् । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पुरा गर्दै तेस्रो, आर्मीकै नवराज साउद २ घन्टा ३१ मिनेट २१ सेकेन्डमा दौड पूरा गर्दै चौथो भए । साउद गतवर्षको विजेता हुन् ।

दोस्रो भएको बस्नेतले ३० हजार, तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे भने चौथो भएको साउदले १०, पाँचौं भएको ज्ञानप्रसाद भट्टराईले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जितिन् । १३औं सागको हाफ म्याराथनमा रजत पदक जितेकी पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । उनले नगद ३० हजार प्राप्त गरिन् ।

कर्णाली प्रदेशकी मन्जु रावत १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् भने शर्मिला धर्तीले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । दोस्रो भएकी मन्जुले १५ हजार र तेस्रो भएकी शर्मिलाले १० हजार प्राप्त गरिन् ।