पहिलो सगरमाथा आरोहणको समाचार ब्रेक गर्ने पत्रकारको निधन

प्रहर संवाददाता
प्रहर संवाददाता
६ मंसिर २०७७, शनिबार १८:०८

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको समाचार लेख्ने बेलायती पत्रकार जान मोरिसको निधन भएको छ। उनको ९४ वर्षको उमेरमा शुक्रबार बिहान वेल्समा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

२०१० जेठ १६ गते बिहान साढे ११ बजे नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। बेलायती पत्रिका टाइम्सकी संवाददाता जानले नै सफल आरोहणको समाचार ब्रेक गरेकी थिइन्।

आरोहणको चार दिनपछि अर्थात २०१० जेठ २० अर्थात बेलायती महारानी एलिजाबेथ द्वीतियको राज्यभिषेकको बिहान टाइम्स पत्रिकाले सो समाचार ब्रेक गरेको थियो। त्यस समयमा जेम्स मोरिसको नाममा समाचार प्रकाशित भएको थियो।

सन् १९७४ मा जेम्स लिंग परिवर्तन गरी महिला बनेकी हुन्। पहिले पत्रकार रहेकी उनी पछि जलयात्री र इतिहासकारका रुपमा चिनिइन्। उनका ४० बढी पुस्तक प्रकाशित छन्।

from: nepalkhabar.com