कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेटरमा कोरोना पुष्टि

प्रहर संवाददाता
प्रहर संवाददाता
१० मंसिर २०७७, बुधबार २१:०९

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेट खेलाडीमा कोरोना भाइरस पुष्टि भएको छ । कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल लाई कोरोना संक्रमण देखिएको नेपाल क्रिकेट संघले जनाएको छ ।

कप्तान मल्लले  सामाजिक सञ्जाल फेसबुकमा आफू कोरोना पोजेटिभ भएको जानकारी दिँदै अहिले होम क्वारेन्टिनमा रहेको बताए । कुनै लक्षण नदेखिएको र आफू स्वस्थ्य देखिएपनि कोरोना सङ्क्रमणको पुष्टि भएकोले सङ्क्रमण नियन्त्रणका लागि आफू केही दिनका लागि क्वारेन्टिनमा बस्ने कप्तान मल्लले लेखेका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

मंगलबार बन्द प्रशिक्षणमा बोलाइएका २२ खेलाडीमध्ये १६ जनाको स्वाब परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो। प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो ।स्टाफ प्रदीप लामालाई पनि कोरोना संक्रमण देखिएको छ ।

शरद भेषावकर, बसन्त रेग्मी, सन्दीप लामिछाने र सुवास खकुरेलले पनि स्वाब दिएका छैनन् । यसैबीच क्रिकेट संघले बिक्रम शोव, अनिलकुमार साह, कुशल भुर्तेल, ऋत गौतम र लोकेश बमसहित थप ५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछ ।