टिपर दुर्घटनामा मकवानपुरका मगर सहित तीनको घटनास्थलमै मृत्यु, एक घाइते

प्रहर खबर
५ माघ २०७७, सोमबार १६:४२

हेटौंडा – टिपर दुर्घटना हुँदा मकवानपुरका एक युवक सहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ बरडाँडामा बा ४ ख ७९८० नंम्बरको टिफर आफै अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मकवानपुरको बाग्मती गाउँपालिका वडा नं.४ का ३३ बर्षीय राज कुमार मगर, सुरुङगा नगरपालिका–८ सप्तरीका १९ बर्षीय कृष्णराज चौधरी र धार्दिङका ३० बर्षीय कमल मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई सडकबाट लगभग एक सय मिटर तल भेटिएको टिपरको अगाडिको भागमा अड्किरहेको अवस्थामा उद्धार गरिएको थियो ।

गम्भीर घाइते मगरलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । चालकबाहेक मृत्यु भएका दुई र घाइते भएका एक जना हाइड्रोपावरका कामदार भएको प्रहरीले जनाएको छ ।

दूधकोसी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको टिपर भिरबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सोलु जलविद्युत् आयोजना (२३.५ मेगावाट) मा प्रयोग भएका सामग्री निर्माणाधीन दूधकोसी सोलु खोला जलविद्युत् आयोजना (८६ मेगावाट) मा लैजाने क्रममा महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि उनीहरू सल्यानतर्फ किन लागे भन्ने कारण खुल्न सकेको छैन ।