करिश्मा मानन्धर महानायिका

प्रहर संवाददाता
प्रहर संवाददाता
२७ माघ २०७७, मंगलवार १२:५९

काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधिबाट सम्मान गरिएको छ। आरके इन्टरटेनमेन्टले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा नायिका करिश्मा मानन्धरलाई महानायिका उपाधिबाट सम्मान दिएको हो।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमालले महानायिका देखिने स्यासे र क्राउन लगाइदिएका थिए। २०४५ सालमा चलचित्र ‘सन्तान’बाट नायिकाको रूपमा यात्रा गरेकी उनले नेपाली चलचित्र जगतमा राम्रो छवि कमाएकी छन् ।

१४ वर्षको कलिलो उमेरबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी करिश्माले झन्डै तीन दशक फिल्म क्षेत्रमा  चर्चा र सफलताको केन्द्रमा रहिन्। ‘मायालु’, ‘कस्तुरी’, ‘ट्रक ड्राइभर’, ‘पन्छी’, ‘साथी’, ‘बसन्ती’ आदि उनका चर्चित फिल्म हुन्।

उक्त समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतलाई राष्टिय सम्मान प्रदान गरिएको थियो ।

आरके इन्टरटेनमेन्ट ग्रुपले एघार वर्षअघि, आफ्नो नवौं वार्षिकोत्सवमा अभिनेता राजेश हमाललाई महानायकको उपाधिबाट सम्मान गरेको थियो।