बस दुर्घटना हुँदा १७ जना विद्यार्थी घाइते

प्रहर संवाददाता
प्रहर संवाददाता
७ फाल्गुन २०७७, शुक्रबार १४:०५

काठमाडौं – शुक्रबार विहान बस दुर्घटना हुँदा १७ जना स्कुले बालवालिकाहरु घाइते भएका छन् । रामेछापको मन्थली नगरपालिका वडा नं १ मच्छेडाँडीमा बस दुर्घटना हुँदा १७ जना स्कुले बालवालिकाहरु घाइते भएको हो ।

शुक्रबारबाट मन्थलीमा शुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन सेतिदेवी मावि सालुबाट मन्थलीतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइतेहरु सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सबैको अवस्था समान्य रहेको अस्पतालका चिकित्सक डा। केशव धामीले जानकारी दिनुभयो ।

बा ५ ख २८५७ नम्बरको यात्रुबाहक बसमा सवार ५३ जना मध्ये १७ जना घाइते भएका हुन् । बसमा अधिकांश स्कुले बालवालिकाहरु रहेका थिए ।

बस तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको जनाएको छ । एक्कासी ब्रेक लगाउँदा बस सडकमा नै पल्टिएको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।