विचार

कनिका हालेर खिर पाक्दैन

भानुभक्त आचार्य
१२ फाल्गुन २०७७, बुधबार ११:२८

नेपालको अर्थतन्त्रलाई सुधार गर्ने चाहना सबैको हो । समृद्ध नेपाल, सुखी नेपालीको नारा फलाक्ने सरकारी संयन्त्रको पारा हेर्दा सँधै दिक्क लाग्छ । धान उत्पादन गर्ने किसानले कहिल्यै समयमा मल र बीउ पाउँदैन । मल बीउ समयमै पाइहाल्यो भने समयमा पानी पर्दैन । समयमा पानी प¥यो भने उत्पादन भएको अनाज बिक्री गर्न किसानले मूल्य तय गर्न पाउँदैन । अनि कसरी समृद्धि आउला ? हाम्रो उत्पादन, भण्डारण, बितरण र उपभोगको प्रबृत्तिबीचमा कस्तो समन्वय छ त ?

अर्को प्रशंगमा हेरौं । नेपालमा गरिने खेती प्रणालीको बीउको गुणस्तर कस्तो छ त ? खानका लागि भण्डारण गरिएको बीउ रोपेर कसरी व्यावसायिक खेती गर्ने ? खेतबारीमा रोपिने अधिकांश बीउबिजन खानको लागि राखिएको अन्नहरु नै प्रयोग हुने गरेको तथ्यांक फेला परेको छ । नेपालका बीउ व्यवसायीहरुले बारम्बार यो कुराको बिरोध गर्दै आएको भए पनि यसको सुनुवाई भएको छैन । भारतीय बजारबाट आयात भएका कम गुणस्तरका बीउबिजनबाट किसान ठगिने प्रबृत्ति पनि रोकिएको छैन बरु बढ्दो क्रममा छ ।

खानका लागि भण्डारण गरिएको अनाजलाई बीउको रुपमा प्रयोग गरेकै कारण नेपालमा खेती राम्रो हुन नसकेको हो । नेपालमा अझै पनि ७५ प्रतिशत बीउविजन अभाव छ । नेपालमा उत्पादन गरिने प्रमुख अन्नबाली भनेको धान, मकै, गहुँ नै हो । किसानले उत्कृष्ट खालको खेती गर्ने हो भने धान ८० हजार मेट्रिकटन, मकै २५ हजार मेट्रिकटन, गहुँ ८० हजार मेट्रिकटन बीउविजन आवश्यक पर्छ । हरेक बर्ष हामीले बीउको अभाव भएको समाचार लेख्न बाध्य भएको छौं ।

तर, उत्पादन भने धान मुस्किलले १० हजार मेट्रिकटन, मकै ३ हजार मेट्रिकटन, गहुँ ८ हजार मेट्रिकटन हुने गरेको छ । गुणस्तरीउ बीउ उत्पादन गर्ने कुरामा हाम्रो कृषिप्रणाली कहिले लाग्ने हो ? तीन तहको सरकारले यसतर्फ ध्यानाकर्षण गर्ने बेला आएको छ । हामीले खेती गर्दा रोप्ने बीउ नै कम गुणस्तरको छ भने त्यसबाट लाग्ने फल पनि कम गुणस्तरकै हुन्छ । उत्पादकत्वका लागि प्रतिहेक्टर उत्पादन बढाउनु आवश्यक छ । बीउको विश्वश्नीयता, सुनिश्चितता नभएसम्म कृषिलाई व्यावसायिक बनाउन सकिंदैन ।

गुणस्तरीय बीउविजन उपलब्ध नहुँदा किसानहरु जहिले पनि मारमा पर्ने गरेका छन् । हामीलाई खिर खान मन लागेको छ तर, हाम्रो घरमा कनिका मात्र छ भने हामीले खाने खिरको स्वाद बास्मती चामलको जस्तो हुनै सक्दैन । अहिले नेपालमा भइरहेको पनि यही हो । हाम्रो खेतबारीमा रोप्ने बीउ चैं कनिका जस्तो छ तर, हामीलाई उत्पादन चाहिं बास्मती चामल जस्तो चाहिएको छ । यो कसरी सम्भव होला ? बास्मती चामलको जस्तो खिर खानका लागि बास्मती नै चाहिन्छ ।

झण्डै ७० प्रतिशत किसानले गर्ने खेतीप्रणाली परम्परागत नै छ । यही अवस्थामा कृषिबाट समृद्धि निकै टाढाको कुरो हो । अर्को प्रशंग हेरौं । खेतीयोग्य जमिनमा घर बनाएर खेती गर्न अयोग्य जमिन बाँझै राख्ने क्रम तिब्ररुपमा बढेको छ । पाखोबारी बाँझै राख्ने अनि भारतीय चामल किन्नका लागि झोला बोकेर पसल दौड्ने अभ्यासले पनि कृषिबाट समृद्धि सम्भव छैन । खेतीयोग जमिन घडेरीमा बिक्री गरेर बिलासिताका बस्तुमा लगानी बढाउँदा ब्यापार घाटा देशले धान्नै नसक्ने अवस्थामा पुगिसकेको छ ।

अझै यो भन्दा चिन्ताजनक कुरो के हो भने हाम्रो समाजले किसानको पसिनाको मोल बुझ्नै सकेन । किसान भन्नेबित्तिकै जहाँसुकै हेपिइनुपर्ने अवस्था छ । किसानलाई अग्रभागमा राख्न नसक्ने समाजमा कृषिबाट उन्नति सम्भव छैन । देशको राजश्व ठगेरै भएपनि टन्न पैसा कमाएर सुकिलो मुकिलो भएर हिडेपछि समाजले उसैको कुरा सुन्ने अवस्था छ । ईमान्दार किसानको पछाडि कोही लाग्नेवाला छैन । खेतबारीमा पसिना बगाउने किसानको कुरा कसैले पनि सुन्नेवाला छैन ।