‘बी’ डिभिजन लिग: ब्वाइज युनियन र आरसिटी विजयी

प्रहर संवाददाता
प्रहर संवाददाता
१३ फाल्गुन २०७७, बिहीबार २१:४४

काठमाडौँ – शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत विनोद राईको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

ब्वाइज युनियनको जितमा टङ्कबहादुर स्याङ्तानको थप एक गोल रहेको थियो । खेलको २६औँ मिनेटमा कप्तान स्याङ्तानले पहिलो गोल गरे। दोस्रो हाफमा राईले ब्वाइजका लागि खेलको ६४औँ मिनेटमा दोस्रो गोल गरे । उनलाई खेललाई २–० को अवस्थामा पु¥याए । यस्तै खेलको ८५औँ मिनेटमा राईले नै आफ्नो टोलीका लागि तेस्रो गोल गरे । खेलको इन्जुरी समयमा उनले नै ह्याट्रिक गोल गर्दै ब्वाइजलाई ४–० गोल अन्तरले विजयी दिलाए ।

जीतसँगै ब्वाइज लिगको चौथो स्थानमा उक्लिएको छ । ब्वाइजले ७ खेलमा ११ अङ्क जोडेको छ । झम्सिखेलको ७ खेलमा ६ अङ्क छ भने उ लिगको नवौँ स्थानमा छ ।

लिगमा आजै भएको अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी)ले नयाँबस्ती युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ। १० खेलाडीमा सिमित आरसीटीले नयाँबस्ती युवा क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको छैटौं मिनेटमा अजित गुरुङले पेनाल्टीमा गोल गर्दै आरसीटीलाई अग्रता दिलाएका थिए । खेलको १९ औं मिनेटमा गणेश हमालले गोल गर्दै नयाँबस्तीलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ५० औं मिनेटमा सचु गुरुङले गोल गर्दै नयाँबस्तीलाई २-१ को अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा सुरेन खवासले गोल गर्दै आरसीटीलाई २-२ को बराबरीमा ल्याए ।

६८ औं मिनेटमा आशिष चापागाईले रातो कार्ड पाएपछि आरसीटी १० खेलाडीमा समेटियो । खेलको ८३ औं मिनेटमा विश्व थापाले गोल गर्दै आरसीटीलाई ३–२ को अग्रता दिलाए ।  खेलको ८५ औं मिनेटमा अजितले व्यक्तिगत दोस्रो गोल गर्दै आरसीटीलाई ४–२ को जित दिलाए ।

जितसँगै आरसीटीले ७ खेलमा ९ अंक जोडेको छ । नयाँबस्तीले ७ खेलमा ११ अंक जोडेको छ । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।एक टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।