कोरोना सकियो भन्दै लापरवाही गर्ने सांसदको संक्रमणकै कारण ज्यान गयो

एजेन्सी
१७ बैशाख २०७८, शुक्रबार १३:४६

काठमाडौं – कोरोना भाइरस संक्रमणलाई लापरवाही गर्ने भारतमा एक सांसदको मृत्यु भएको छ । कोरोनाका विषयमा लापरवाही गर्दा वा यसलाई तुच्छ ठान्दा भारतको उत्तर प्रदेशस्थित बरेलीमा नवाबगंज विधानसभा सीटबाट भारतीय जनता पार्टीका विधायक केसर सिंह गंगवारको मृत्यु भएको हो ।

कोभिडका कारण गंगवारको मृत्यु बुधवार भएको हो । उनको मृत्युपछि एक न्युज च्यानलको भिडियो चर्चित बनिरहेको छ । विधानसभा भवनमा उनी पुग्दा रिपोर्टरले सोधेका थिए, ‘कोरोनाकालमा पनि तपाईंले मास्क लगाउनुभएको छैन त ?’

गंगवारले उत्तर फर्काए, ‘मास्क रे ? अब कोभिड सकियो त । कहाँ छ र कोभिड ?’ त्यसो भन्दै उनी मोबाइलमा कुरा गर्दै हिँडेका थिए ।

संक्रमण भएपछि अप्रिल १० मा उनलाई बरेलीको राममूर्ति मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उनी कोरोना पोजिटिभ पाइए । अस्पतालको आईसीयूमा २४ घन्टासम्म बेड नपाइएको परिवारको गुनासो छ ।

पछि उनलाई नोयडाको यथार्थ अस्पतालमा भर्ना गरियो । त्यहीँ नै दुई दिनअघि उनको ज्यान गयो ।

एजेन्सी