दुध किसानको भुक्तानी महिनौँ देखि अबरुद्ध, दोषारोपणमै ब्यस्त सम्बन्धित निकाय

प्रहर संवाददाता
प्रहर संवाददाता
२० बैशाख २०७८, सोमबार १७:५०

हेटौंडा – मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ मार्फत दुध बिक्री गर्ने सहकारी किसानको भुक्तानी करिब चारमहिना देखि रोकिएको छ । पशुपालन ब्यवसायलाई मुल ब्यवसाय बनाएका किसानहरु यति लामो समयदेखि दुधको भुक्तानी नपाउँदा मर्कामा परेका छन् ।

पशुका लागि चाहिने आहारा, औषधी एवं दैनिक खर्च धान्न किसानलाई भुक्तानी नपाउँदा यति बेला धौँधौँ परेको छ । हुन त किसानको यो समस्या नयाँ र नौलो भने होइन । यो देश कृषि प्रधान भएतापनि किसानले विभिन्न समयमा आउने आपत्ति एवम् राजनितिक आरोहअवरोह खेप्दै आउँदा सबै भन्दा बढी किसानै पिडित हुने गरेका छन् ।

कस्ले लिन्छ किसानको दुध ?
किसानद्वारा उत्पादित दुध सहकारीले खरिद गर्दछ । सहकारीले खरिद गरेको दुध जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई बिक्री गर्दछ । उक्त जिल्ला संघले दुध निजि डेरी उद्योग एवम् दुग्ध बिकास आयोजनालाई बिक्री गर्दछ ।

किन पैसा पाएनन् किसानले ?
दुग्ध उत्पादक सहकारीहरु जिल्ला संघबाट भुक्तानी नपाएपछि किसानलाई दिन नसकेको बताउँछन् ।

के भन्छ जिल्ला संघ ?
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेब अधिकारीसंग किसानको भुक्तानी किन ढिलो भयो भन्ने प्रश्नमा उनी भोभिड–१९ का कारण ढिला हुन गएको बताउँछन् । शुरुमा दुध खरिद गर्ने उद्योगिहरु नै समस्या छन् भन्दै गरेका उनी हामीले तपाई उद्योगिको प्रतिनिधित्व गर्ने कि किसानको भनेर प्रश्न गर्दा उनी निजि उद्योग र दुग्ध बिकास आयोजनाका कारण भुक्तानी ढिला हुन गएकोे हो भन्दै थिए ।

“हामी निरन्तर प्रयासमा छौँ, किसानको पैसा मर्दैन, हामिले कागज गरेर दुध बिक्री गरेका छौँ ।”–उनले भने ।हाम्रो प्रश्नको उत्तरमा “कित दुध बेच्नु भएन, नत्र समस्या त झेल्नु प¥यो नी !” भन्ने खालका उनको तर्क थियो । उनले किसानको भुक्तानी दिन आफु निरन्तर लागि परेको बताए ।

यसो भन्छ दुग्ध बिकास आयोजना ?
दुग्ध बिकास आयोजना हेटौंडाका र्दोणराज ओलीले किसानको करिब ३० करोड भुक्तानी दिन बाँकी रहेको बताए । उनले भने,“हामीले कोभिडको बेलामा किसानको दुध खरिद गरि दुग्धजन्य उत्पादन ग¥यौँ । तर, त्यो उत्पादन बिक्री नभएर हामीले किसानलाई भुक्तानी दिन सकेनौँ ।” उनले निकट भविष्यमानै आयोजनाले ऋण लिई किसानको भुक्तानी दिने बताए ।

नेता, मन्त्री एवम् सम्बन्धित निकायमा रहेकाहरुले किसानको हकहित र जिवनस्तर उकास्नको निम्ति जती प्रयास, भाषण, गफ गरेपनि कोदो र तोरी एकैठाउँमा पिसेर तेल निकाल्न खोज्नु सरह हो ।