हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु, ४८ घण्टामा नबित्दै मृतकको संख्या चार पुग्यो

प्रहर संवाददाता
प्रहर संवाददाता
२१ बैशाख २०७८, मंगलवार ०९:४२

हेटौंडा – पछिल्लो ४८ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ४१ वर्षीया महिलाको कोरोना संक्रमितको मृत्यु भएसंगै चार पुगेको हो ।

ती महिला हिजो साँझ अस्पतालको इमरजेन्सीमा उपचार गर्न आएकी थिइन । उनलाई कोरोनाको सबै लक्षण देखिएपछी स्वाब परिक्षण गर्दा रिपोर्ट पाजेटिभ आएको थियो । उनको उपचार गर्दा गर्दै मृत्यु भएको हेटौडा अस्पतालका प्रमुख डाक्टर प्रबिण श्रेष्ठले जानकारी दिए । अरु रोगले भन्दा पनि कोरोना भाइरसका कारणनै मृत्यु भएको डाक्टर श्रेष्ठको भनाई छ ।

यसअघि हेटौंडा अस्पतालमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो । आईतबार राती सवाँ ९ बजे हेटौंडा–१ का ५५ वर्षीय पुरुष, सोमबार बिहान ६ बजेर २२ मिनेटमा बाराका ४६ वर्षीय पुरुष र सोमबार बिहानै साढे ९ बजे महोत्तरी जलेश्वर–२ का ५० वर्षीय पुरुष मृत्यु भएको अस्पतालले जनाएको छ ।

दोस्रो लहरको कारणबाट ५ जना र पहिलो लहरबाट ३२ जना गरी हालसम्म मकवानपुरका ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।