राष्ट्रियसभा उपनिर्वाचन : गृहमन्त्री थापासहित तीनको मनोनयन दर्ता

प्रहर संवाददाता
प्रहर संवाददाता
२४ बैशाख २०७८, शुक्रबार १५:३४

हेटौंडा – नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापा ‘बादल’ले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छिन् ।

गृहमन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न हेलिकोप्टरबाट हेटौंडा आइपुगेका हुन् । सो पदमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र)लगायत दलका समर्थनमा डा खिमलाल देवकोटाले पनि उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडाले जनाएको छ ।

सङ्घीयताविद् डा देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र, वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छिन् ।

त्यसैगरी राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि उम्मेदवारी दर्ता गराएको छ । नेमकिपाले काभ्रेका कृष्णबहादुर तामाङलाई राष्ट्रियसभा सदस्यको उम्मेदवारका रुपमा उभ्याएको हो । तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाइ र समर्थकमा प्रदेश सांसद सिर्जना सैजु रहेकी छन् ।

वाग्मती प्रदेशसभामा ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहका प्रमुख उपप्रमुख २३८ र वाग्मती प्रदेशसभा सदस्य ११० जना गरी कूल ३४८ मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए । उनका अनुसार आगामी जेठ ६ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी मावि भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ । एउटा स्थानीय तहका लागि र अर्को प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको हो ।