फिफा वरीयतामा नेपाल यथावत

प्रहर संवाददाता
प्रहर संवाददाता
१३ जेष्ठ २०७८, बिहीबार १६:०३

हेटौंडा – विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ। फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल एक सय ७१औं स्थानमा रहेको छ। अप्रिल ७ मा पनि नेपाल १७१औं स्थानमै थियो ।

फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली हाल मैत्रीपूर्ण खेलका लागि इराकमा छ । नेपालले शनिबार पूर्व एसियन च्याम्पियन तथा ६८औं वरीयतामा रहेको इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

दक्षिण एसियाली राष्ट्रमा वरीयतामा नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०५औं र माल्दिभ्स १५५औं स्थानमा रहेको छ । यस्तै नेपालभन्दा पछि बंगलादेश १८४औं, भुटान १८७औं, पाकिस्तान १९९औं र श्रीलंका २०४औं स्थानमा छन् ।

वरीयतामा पनि खासै फेरबदल भएको छैन। बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्वविजेता फ्रान्स दोस्रो स्थानमा छ । यस्तै ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, इटाली सातौं, अर्जेन्टिना आठौं, उरुग्वे नवौं र डेनमार्क दशौं स्थानमा छन् ।