विचार

सन्दर्भ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस: सामाजिक न्याय बालुवाबाट तेल सरह

उर्मिला देवकोटा
२१ जेष्ठ २०७८, शुक्रबार १६:५८

हेटौंडा – आज मिति २०७७ जेष्ठ २१ गते सबै प्रकारका जातीय भेदभावविरूद्धको ‘छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ । यस दिन नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिन हो । बिक्रम संबत् २०६३ जेष्ठ २१ गते तत्कालीन संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । नेपालमा विसं २०६८ जेठ २१ गतेदेखि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ ।

तर, कानुनी रुपमा भनिएपनि ब्यवहारमा लागु भएको पाईदैन । २१ औं शताब्दीमा पनि मनुस्मृतिको वर्ण व्यवस्थाबाट प्रभावित भएका लाखौ मनुका सन्ततिहरुलाई मानिस बनाउन साच्चै नै मुस्किल रहेछ । आज पनि उनीहरुको पुरातन जातीय सोच परिवर्तन भइसकेको छैन । विज्ञान र प्रविधिका माध्यमबाट विश्व अघि बढिसक्दा पनि हामी भने अझै जातीय विभेदमै अल्झिरहेका छौँ ।

यसअघि छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका दिन राष्ट्रपति, प्रधानमन्त्री लगायत देशका उच्च पदमा रहेकाहरुले जातीय छुवाछूत र भेदभावविरुद्ध दृढतापूर्वक उभिएर जातीय आधारमा हुने छुवाछूत तथा भेदभाव सदाको लागी अन्त्य गर्न हरेक नेपालीलाई आह्वान गरेपनि त्यो केवल भाषणमा मात्र सिमित छ । उनीहरुबाट सम्पूर्ण नेपालीमा छुवाछूत उन्मूलन राष्ट्रिय भएको दाबी गर्दै गर्दा, नेपाली एक भएर लागेमा छुवाछूत प्रथा पनि विगतका दास प्रथा, सतीप्रथा, कमैया प्रथाजस्तै सधैँका लागि समाप्त हुने जस्ता अभिब्यत्तीहरु दिदै गर्दा नेपालमा जातीय छुवाछुतकै नाममा जनप्रतिधिनै कुटिए, छुवाछुतकै नाममा धेरै ब्यक्तिले ज्यान गुमाए । यस्तो जघन्य अपराधहरु देश बनाउछु भनेर हिडेका जनप्रतिनिधिबाटै हुन्छ भने उत्पीडित बर्गको उत्थान कसरी हुन्छ ?

यही जेष्ठ १२ गते चितवनको राप्ती नगरपालिका वडा नं ९ मा दलित भन्दै गैरदलित परिवारले आमाछोरालाई कुटपिट गरेको घटनाले झाप्पडै हानिदिएको छ । देशमा छुवाछूत, भेदभाव तथा उत्पीडित बर्गमाथि गरिने ब्यवहारमा परिवार्तन आईसक्यो भन्नेहरुलाई । चितवनको राप्ती नगरपालिका जस्तो ठाउँमा त यस्तो घटना घटेको अवस्था छ भने दुर्गम जिल्लाहरुको अवस्था के होला कल्पना भन्दा बाहिरको कुरो हो ।

अशिक्षित समाज, परम्पराबादी सोच, कानुन सम्म पिडितको पहुँच नहुनु, राजनैतिक दलबाट भरुवा भएका अधिकारकर्मी, स्वयम लक्षित समुदाय आफ्नैको विभेदकारी सोचका कारण समाजमा छुवाछुत उन्मुलन गर्न नसक्नु कारणहरु हुन् । नेपालको संविधान २०७२ को मौलीक हक अन्तरगत धारा २४(उपधारा १) मा छुवाछुत तथा भेदभाव विरुद्धको हकमा “कुनै पनि ब्यत्तिलाई निजको उत्पती जातजाती समुदाय पेशा ब्यवसाय वा शारिरीक अवस्थाको आधारमा कुनैपनि निजि तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन” भनिएको छ । संविधानत ब्यवस्था भएपनि कानुन एक तिर सामाजिक अम्यास अर्को तिर छ । सोचे जस्तो परिवर्तन भएन भन्दै गर्दा अरुलाई औला देखाउदा आफुलाई उठाएको हेर्नुपर्ने अबस्था श्रृजना भएको छ ।

अशिक्षित समाज
किताबी कोरा ज्ञान प्राप्त गर्नु मात्र शिक्षा नभई सामाजिक सन्तुलन कायम गर्नको लागि हामीले पाएको सामाजिक शिक्षानै छुवाछुत उन्मुलनको मार्ग प्रशस्त गर्ने एउटा बाटो हो । संगै खेल्ने साना दुई बालबालिकाको मष्तिष्कमा नै समाजले तँ ठुलो र तँ सानो भन्ने ज्ञान अबोध कालबाट नै सिकाउनु अशिक्षित समाजको परिकल्पना गर्नुको हो । जुन हाल बिद्यमान छ ।

परम्राबादी सोच
“आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको” भन्ने उखानले पनि छुवाछुत एवम बिभेदलाई प्रश्र्रय दिईरहेको छ । बुढापाकाले हिजो चलेका संस्कृती हो भन्दै दलितलाई दहि मोही दिए, भैंसी रुख चढ्छ भन्नु र आजको समयमा नातानातिनिले त्यही ब्यवहार नगरेपनि सामाजिक दमन गर्नु परम्पराबादी सोचको एक उदाहरण हो ।

कानुन सम्म पिडितको पहुँच नपुग्नु
गाउँका ठुलाबढा भद्र भलाद्यमीले नै छुवाछुत एवम भेदभावमा परेका पिडितलाई नै कानुनी उपचारमा पु¥याउनुको सट्टा गाउँमै बिषयलाई टुङ्गाउनु तिर लाग्नु बल्ल तल्ल कानुनी सहायतामा पुगेपनि खर्चिलो, झन्झटिलो कानुनी प्रकियाले पिडितको पहँुच नपुग्ने गर्दछ ।

राजनैतिक दलबाट भरुवा भएका अधिकारकर्मी
संबैधानिक आयोगहरुको पदमा( दलित मुस्लिम महिला) राजनितिक भरुवा नियुक्तीले पनि सामाजिक छुवाछुत एवम भेदभाव कायमै राखेको छ । लक्षित बर्ग सम्म विभिन्न कार्यक्रमहरु नपुग्नु आयोगमा बाहल भएका पदाधिकारीहरुको पहुँचमा मात्रै सिमित हुनु, विनियोजित रकम दुरुपयोगले सम्बन्धित पक्षको उत्थान हुन नसक्नु कारणहरु हुन् ।
टिके पदाधिकारीबाट पिडित पक्षलाई न्याय दिनुको साट्टो राजनितिकरण गरी पिडितलाई थप पिडा हुने किसिमका गतिविधि भएका छन् ।

विभेदकारी सोच
लक्षित बर्ग भित्रै सामाजिक न्यायका लागि आवाज उठाउन पर्नेमा आफै सानो र ठुलो भावना राखी विभेदकारी सोच राखेको कारण पछि परेका छन् । तसर्थ सम्पुर्ण सामाजिक रुपमा पछिपारीएका बर्गहरु आफै सजग सचेत नभएसम्म छुवाछुत मुक्त समाजको परिकल्पना गर्नु बालुबाट तेल निकाल्नु सरह हुनेछ ।र,अन्त्यमा आज जातीय बिभेद तथा छुवाछुत उन्मुलन दिवस, आर्फैभित्रको बिभेद अन्त्य गरी सामाजिक न्याय तथा एकताको लागि अगाढी बढ्न सबैमा हार्दिक शुभकामना ।