नेदरल्यान्ड्स र बेल्जियम अनकआउट चरणमा, आज तीन खेल हुने

प्रहर संवाददाता
प्रहर संवाददाता
४ असार २०७८, शुक्रबार १०:२०

काठमाडौं – नेदरल्यान्ड्स र बेल्जियम१६औँ संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा नेदरल्यान्ड्सले अष्ट्रियालाई २–० गोल र बेल्जियमले डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको हो ।

जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक/एक गोल गरे । खेलको ११औँ मिनेटमा डिपेले पेनाल्टीबाट गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । ६७औँ मिनेटमा मालेनको पासमा डेन्जलले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को जित दिलाए ।

जितसँगै समूह ‘सी’मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । नेदरल्यान्ड्सले २ खेलबाट ६ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ । अष्ट्रियाको यो पहिलो हार हो ।

त्यस्तै डेनमार्कमाथिको यस जितसँगै बेल्जियम अन्तिम १६ मा समेत प्रवेश गरेको हो । पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डे ब्रुएनाले एक–एक गोल गरे । डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए ।

जितसँगै समूह बी मा रहेको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ । बेल्जियम शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो ।

डेनमार्कको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो ।अंक विहीन रहदै पुछारमा रहेको डेनमार्कको भने अर्को चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

त्यसैगरी युक्रेनले युरोकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले पहिलो जित निकालेको हो ।

जितसँगै समूह सी मा रहेको युक्रेनले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । युक्रेन समूहको तेस्रो स्थानमा रहेको छ ।

आज तीन खेल हुने

युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज शुक्रबार तीन खेलहरु हुँदैछ । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ई मा रहेको दुई टिमबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् । समूह डी मा रहेको दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

त्यस्तै आज हुने तेस्रो खेलमा समूह डी को इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।