एमालेका २२ सांसदले दिए देउवालाई विश्वासको मत

प्रहर संवाददाता
प्रहर संवाददाता
३ श्रावण २०७८, आईतवार २२:३५

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिएका हुन् ।

आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिएका थिए । सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।

प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् ।

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधरका सहित एमालेका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त हुनुभएको थियो । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।